तेह्रथुम / साता दिनयता बढेको अत्यधिक चिसोका कारण तेह्रथुमसहित पूर्वी पहाडी जनजीवन प्रभावित भएको छ । मौसममा एकाएक परिवर्तनपछि अत्यधिक चिसो बढेको हो । राति तुषारो पर्ने र दिउँसो चिसो हुने गरेकाले सातायता मौसम चिसिएको छ । चिसो हावा चल्ने र तुषारो समेत झर्न थालेकोले बिहान अबेरसम्म सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । लेकाली क्षेत्रको जङ्गलमा रहेका पशुवस्तु चरन क्षेत्र छाडेर औलतिर भाग्न थालेका छन् । जिल्लाका वसन्तपुर, लसुने, शुक्रबारे, जिरिखिम्ती लगायतका बजारका पसलहरु ढिलो गरी खुल्न थालेका छन् । तीनजुरे–मिल्के–जलजले क्षेत्रमा रहेको पदमार्गमा रहेका पाँचपोखरी, चौकी, मङ्गलबारे, गुफा लगायतका बजारहरु चिसोले गर्दा अबेरसम्म बन्द हुने गरेको चौकी बजारमा रहेको लालीगुराँस होटलका सञ्चालक उदयकुमार लोले बताए । चिसो बढेकाले शहर बजारका वासिन्दाहरु भेला भएर आगोको धुनी ताप्न थालेका छन् । चिसोका कारण माथिल्लो क्षेत्रका धेरै विद्यालयले जाडो बिदा गरेका छन् । चिसोले बूढाबुढी र केटाकेटीलाई बढी सताएको छ । बूढाबुढी र केटाकेटीलाई रुँघाखोकी र निमोनियाले सताएको छ । चिसोले छालाजन्य रोगका बिरामी समेत बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हुस्सु लाग्ने, घाम कम लाग्ने र रातमा बाक्लो तुषारो पर्न थालेकाले पूर्वका पहाडी जिल्लाको मौसम पूरै चिसिएको छ । चिसोसँगै केही दिनयता बाक्लो तुषारो झर्न थालेकाले किसानले लगाएको हि“उदे आलु, तरकारी लगायतका बालीमा समेत क्षति पु¥याएको छ । यी नरम कृषि बालीमा तुषारो जमेपछि सुक्ने भएकाले धेरैजसोको उत्पादन घटिसकेको कृषक बताउँछन् ।