ताप्लेजुङ/विश्वमै लोपोन्मुख वन्यजन्तुको रूपमा रहेको रेडपाण्डाको संरक्षणलाई थप प्रभावकारी बनाउन ताप्लेजुङमा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिने भएको छ । रेडपाण्डाको सङ्ख्या बढाएर जिल्लामा पर्यटक भित्र्याउने लक्ष्यका साथ यस क्षेत्रमा काम गरिरहेको रेडपाण्डा नेटवर्कले आप्mनो पहलमा जिल्लामा रहेका १२ वटा सामुदायिक वनसँग सहकार्य गर्दै रेडपाण्डा संरक्षण कार्यलाई अघि बढाउने तयारी भएको जनाएको छ ।
जिल्लामा रेडपाण्डा पाइने विभिन्न गाविसका १२ वटा सामुदायिक वनका पदाधिकारीको संलग्नतामा शुक्रबार रेडपाण्डा सञ्जाल समितिसमेत गठन गरिएको रेडपाण्डा संरक्षणको क्षेत्रमा ताप्लेजुङमा काम गरिरहेको हिमाली संरक्षण मञ्चका रमेश राईले बताए । सामुदायिक वनकै प्रतिनिधिलाई सञ्जालमा राखे रेडपाण्डा संरक्षणमा सहज हुने भएकाले पछिल्लो समय सामुदायिक वनका पदाधिकारीलाई समेत सामेल गराउन थालिएको राईको भनाइ छ ।
उनीहरूले गाउँमै रहेर रेडपाण्डाको अवस्था पत्ता लगाउने, संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र चोरी शिकारी रोक्नेमा भूमिका खेल्ने रेडपाण्डा नेटवर्ककी कार्यक्रम संयोजक पेमा लामाले बताइन् । सदरमुकाममा शुक्रबार समुदायमा आधारित हाब्रे संरक्षणसम्बन्धी अन्तत्र्रिmया तथा गोष्ठी आयोजना गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समूहसँग गरिएको अन्तत्र्रिmयामा रेडपाण्डा संरक्षणका विषयमा सामुदायिक वनका पदाधिकारीलाई जानकारी गराएर रेडपाण्डा सञ्जाल गठन गरिएको लामाले जनाए । नौ सदस्यीय समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अशोककुमार बस्नेत, यामबहादुर नुगो, सन्तोष राई, ठाकुरसिंह कार्की र कृष्णकुमारी लिम्बू छन् । उनीहरू सबै जिल्लाका विभिन्न सामुदायिक वनका पदाधिकारी रहेको आयोजकले बताएको छ ।
































