चतरा/ वराहक्षेत्र गाविसको २५ औँ गाउँ परिषद्बाट प्रस्तावित आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा शुक्रबार ब्लाष्टकर्मीसहित १७ जनालाई सम्मान गरिएको छ ।
पूर्व नागरिक तथा उड्डयन मन्त्री तथा क्षेत्र नं ६ का सभासद् भीम आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्लाष्टका स्थानीय संवाददाता विजयकुमार राईसहित शिक्षक प्रह्लाद भट्टराई, समाजसेवीद्वय रतनप्रसाद राई र देउमाया थापा मगर, कर्मचारीद्वय गाविसका खरिदार गोपालप्रसाद शर्मा र कार्यालय सहायक गोपाल तामाङ, धार्मिक अभियन्ता युवापण्डित योगेश भण्डारी, वडा नं ५ को सिंहदेवी प्राथमिक विद्यालय, नागरिक मञ्चका चिरञ्जीवी प्याकुरेल, महिला स्वयंसेविका इन्दिरा सापकोटा, पूर्ण सरसफाइ अभियन्ता लालकुमार राई, निर्माण सरसफाइ अभियानका डम्बरबहादुर दाहाल, नमूना घरका लागि रणमाया तामाङ, अनुगमन समितिका अच्युतनन्द खतिवडा, ज्येष्ठ नागरिकद्वय हरिप्रसाद श्रेष्ठ र मनमाया श्रेष्ठ तथा अम्बरबहादुर विक र तीर्थमाया विकलाई सम्मान गरिएको थियो ।
सम्मानितहरूलाई गाविसको सभाहलमा सम्पन्न समारोहमा प्रमुख अतिथि र गाविस सचिव हिरालाल विकले सम्मानपत्र प्रदान गर्दै खादा ओढाएका थिए ।