धरान /  सुनसरी र पाँचथरमा भएको दुर्घटनामा सनिवार ४ जनाको मृत्यु भएको छ । सुनसरकिो पश्चिमी क्षेत्र हरिपुर–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।  प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २९३१ नंको बसले को२९ख ५५३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ हसन्दहका सुमन बास्तोला, इटहरी–५ का कान्छा तामाङ तथा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु भएका तेस्रो व्यक्तिको सनाखत हुन सकेको छैन । सनाखत हुन नसकेका व्यक्ति मोटरसाइकलमा सवार थिए वा सडकयात्री भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसचालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।  यता मेची राजमार्गको फिदिम–इलाम सडक खण्ड अन्तर्गत फिदिम–३, लालीखर्कमा शनिबार बिहान भएको जीप दुर्घटना घाइते भएकी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ताप्लेजुङ लिवाङ–८, की ५० वर्षिया नैनकला कार्कीको उपचारको लागि झापाको डि एण्ड सि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङ देखि बिर्तामोड तर्फ जाँदै गरेको मे १ ज २५४६ नम्बरको जीप बिहान साँढे दश बजे दुर्घटना भएको थियो । घाईते हुनेहरुमा ताप्लेजुङको नाङखोल्याङ–३, बस्ने ३९ वर्षिय चालक देवान दोर्जे तामाङ, ताप्लेजुङकै लेलेप–१, बस्ने वर्ष २० का रोशन लिम्बू रहेका छन् । त्यस्तै पाँचथर याङनाम–१, बस्ने बर्ष २२ का रुद लोवा, मोरङ डाँगीहाट– ४, बस्ने वर्ष २० का चुवन खड्का, तेह्रथुम सोल्मा–१, बस्ने वर्ष ३० का सरोज खनाल, मोरङ भाउन्ने–४ बस्ने बर्ष २३ का जीवन खड्का र सोही स्थान बस्ने वर्ष २४ का पोष्टबहादुर खड्का पनि दुर्घटनामा परी घाइते भएका छन् । चालक सहित जीपमा सवार आठै जना घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपछि थप उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ । अनियन्त्रित भई दुर्घटना भएको जीप सडकभन्दा करीब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।