भद्रपुर/ झापाको दक्षिणी सीमा क्षेत्रका बासिन्दा वर्षौंदेखि त्रासमा जीवन बिताइरहेका छन् । सदरमुकाम भद्रपुरबाट १५ किलोमिटर दक्षिणी सीमावर्ती गाविस पृथ्वीनगर, पाठामारी, पथरिया, बनियानीलगायत वरपरको क्षेत्रमा भारतीय नकाबधारी डाका समूहको आतङ्क र चोर, तस्करबाट सीमा क्षेत्रका बासिन्दा वर्षौंदेखि त्रासमा जीवन बिताइरहेका छन् ।करीब १५ वर्षयता चोरीतस्करी, हत्या, लुटपाट र डाका समूहद्वारा १० वटा गम्भीर प्रकृतिका घटनाहरू भइसकेको जिल्ला प्रहरी कार्यालयको अभिलेखबाट देखिन्छ । प्रहरीले दिएको विवरणअनुसार ०५८ साउन ११ मा पथरीया गाविस–१ का नारायण राजवंशीको घरमा डकैती गर्न आएकामध्ये भाग्ने क्रममा गाउँलेको प्रतिकारमा नाम–ठेगाना नखुलेका एकजनाको ज्यान गयो ।

सोही महिनाको २९ गते पाठामारी–१ का जमालुद्दिन मियाँको साथमा रहेको २० हजार नगद लुट्ने क्रममा गाउँलेले प्रतिकार गर्दा एकजना लुटेराको मृत्यु भयो । त्यसको करीब ८ वर्षपछि ०६६ फागुन ४ मा पथरिया–४ स्थित भूमिप्रसाद राजवंशीको घरबाट नगद ५ लाखलगायत सुनचाँदी डकैती गरी भाग्ने क्रममा भारतीय नागरिक मजिम आलम पक्राउ परेका थिए । त्यसैगरी ०६८ जेठ ७ मा पृथ्वीनगर–८ मा रहेको एरोमा टी स्टेटबाट २ लाख ४७ हजार ५ सय १९ रुपैयाँ बराबरको चिया चोरी गरेर सोही स्थानका २५ वर्षीय बाबा भन्ने आइतबहादुर लिम्बू हालसम्म फरार छन् । यस्तै, ०६९ असार ३ गते राति बनियानी–८ का प्रकाश राईको घरमा आएको डाका–समूहले नगद तथा गरगहना लुटपाट गरेको थियो । सोही वर्ष मङ्सिर ३० गते मध्यराति पाठामारी–२ का ४२ वर्षीय कुसपतलाल राजवंशीको घरमा १५–२० जनाको सङ्ख्यामा आएका डाकाले ७ तोला सुन, २२ तोला चाँदी र २ लाख २० हजार नगद लुटेका थिए । डाकाले हानेको बमबाट दुईजना स्थानीयसमेत घाइते भएका थिए । त्यस्तै ०७० मङ्सिर १८ गते मध्यराति पाठामारी–३ नयाँबस्तीका जियारु मियाँको घरमा हतियारसहित आएका १५–२० जना डाकाले ६ लाख २१ हजार नगद र साढे तीन तोला सुनलगायत सामान डकैती गरेका थिए । उनीहरू भारतीय नागरिक भएको प्रहरी अभिलेखमा उल्लेख छ ।

त्यसैगरी ७१ मङ्सिर २५ गते राति १ बजे बनियानी–८ मा रहेको लीला राजवंशीको घरबाट सोही वडाका १८ वर्षीय देवकुमार राजवंशीले सुनका गरगहना र नगद गरी १ लाख २६ हजार ६ सय ५० रुपैयाँ बराबरका धनमाल चोरेका थिए । सोही वर्ष फागुन २ गते बिहान (राति) हतियारसहित आएका १०–१२ जनाले पथरिया–४ का विष्णुप्रसाद खतिवडाको घरमा रहेको ५ लाख २९ हजार ३ सय नगद र ५ तोला सुनका गरगहना डकैती गरे । त्यस क्रममा सो समूहले पड्काएको बमबाट स्थानीय दुईजना घाइते भए । ०७१ चैत २९ गते मध्यराति पृथ्वीनगर–८ का देवकुमार श्रेष्ठको घरमा २०–२५ जनाको सङ्ख्यामा हतियारसहित आएको नकाबधारी डाका समूहले परिवारका सदस्यलाई नियन्त्रणमा लिएका थिए । प्रतिकार गर्न खोज्दा उनीहरूले घरधनी श्रेष्ठको हत्या र परिवारका अन्य सदस्यलाई घाइते बनाएर १ लाख ८० हजार नगद र १० तोला सुन लुटेको झापाका प्रहरी प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जनाए । दुई वर्षयता सो क्षेत्रमा आपराधिक क्रिपाकलाप नभएको शर्माको भनाइ छ ।पछिल्लो समय भएको घटनाले आतङ्कित स्थानीय र गाउँको सुरक्षाका लागि सशस्त्र प्रहरीको क्याम्प ल्याउन राजनीतिक दलका स्थानीय नेताहरूले पहल शुरु गरेका थिए ।

दलहरूले विकेन्द्र लिम्बूको अध्यक्षतामा सर्वदलीय सशस्त्र प्रहरी बल स्थापना सरोकार समिति नै गठन गरे । समितिले स्थानीय प्रशासनदेखि नेपाल सरकारसम्मलाई लिखित तथा मौखिक दवाब दिए । बेस क्याम्प स्थापनाका लागि उनीहरू स्थानीयबाट आर्थिक सङ्कलन अभियानमा जुटे । स्थानीयको सक्रियता देखेर सशस्त्र प्रहरी बलको झापास्थित सीमा सुरक्षा कार्यालयका तत्कालीन एसपी प्रेमराज पोखरेलले बेस क्याम्प स्थापनाका लागि आन्तरिक पहल शुरु गरे । एसपी पोखरेल सरुवा भएपछि आएका एसपी शान्तिकुमार कार्कीले एक इन्स्पेक्टरसहित २५ जनाको दरबन्दी कायम गरी २०७३ असार २९ गते पृथ्वीनगर–९ मा सशस्त्र प्रहरी बल अस्थायी बोर्डर आउट पोस्ट स्थापना गराए ।भारतीय डाका र चोर–तस्करको त्रासबाट आजित भएका स्थानीयले गाउँमा सशस्त्र प्रहरी आएपछि ढुक्कसाथ सुत्न पाएका छन् । नकाबधारी डाका समूहले हत्या र लुटपाट गरी आतङ्क मच्चाउने सो क्षेत्रमा सशस्त्र प्रहरी पुगेपछि ६ महिनायता स्थानीयले शान्ति सुरक्षा महसुस गरेका छन् ।

भारतको खटखटीसँग जोडिएको झापाका सीमा स्तम्भ १०५ देखि ११० नम्बरसम्मका क्षेत्रमा सशस्त्रले नियमित निगरानी गरिरहेको छ । सशस्त्रले गस्ती गर्न थालेपछि स्थानीय हर्षित भएको स्थानीय रामु गौतमले बताए । सशस्त्र प्रहरी नहुँदा गाउँवासीले रातभर आपैmँ गस्तीमा हिँड्नु परेको स्थानीय घनश्याम गुरुङले बताए । समितिको दवाबमा ६ महिनाअघि सशस्त्रको पोस्छ ल्याउन सफल भएको सरोकार समितिका अध्यक्ष लिम्बूले बताए । सुशिला लिम्बूको एकतले घर भाडामा लिएर अस्थायी पोस्ट स्थापना गरिएको उनले बताए । समितिले सशस्त्र प्रहरी व्यवस्थापनका लागि प्रतिघर ५ हजारदेखि ५० हजार रुपैयाँसम्म रकम उठाइएको उनको भनाइ छ । त्यस रकमबाट मासिक ३ हजारका दरले घरभाडा तिरिरहेको लिम्बूले जनाए । बाँकी रकमबाट अस्थायी आउट पोस्ट स्थापनाका लागि पृथ्वीनगर–८ मा साढे ८ लाखमा १० कठ्ठा जग्गा खरीद गरिएकोे उनले बताए । तर, चोरीतस्करीमा संलग्न केही व्यक्तिले समितिका पदाधिकारीलाई मार्ने धम्कीसमेत दिएको उनले गुनासो गरे । भाडाको भवन पुस मसान्तपछि छाड्नुपर्ने भएकोले आप्mनै जग्गामा भवन बनाउन अहिले सरोकार समिति र सशस्त्र प्रहरी जुटेका छन् ।

भवन निर्माणका लागि व्यापारीसँग सहयोग सङ्कलन गरिरहेको सशस्त्रको अस्थायी बोर्डर आउट पोस्टका इन्स्पेक्टर गोपाल पोखरेलले बताए । माघ १ गते घर खाली गर्न घरधनीसँग सम्झौता भएको जनाउँदै उनले अस्थायी भवन बनाउन पनि दुई÷चार महिना लाग्ने भएकोले केही समस्या उत्पन्न भएको बताए । सशस्त्रको सीमा सुरक्षा कार्यालयका डीएसपी राजेश उप्रेतीले स्थानीयले खरीद गरेको जग्गामा सामान्य टहरा बनाएर अस्थाई बसोबास गरी भवन निर्माणलाई बढाउने बताए । पाल टाँगेर भए पनि सुरक्षा दिइने उनले बताए ।