दमक/ दमक नगरपालिकाले आर्थिक वर्ष २०७३÷०७४ का लागि ३५ करोडको बजेट तथा नीति एवं कार्यक्रम पारित गरेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यहाँ सानादेखि ठूला योजना सम्पन्न गर्ने लक्ष्यसहित नगरपालिकाले गत वर्षको भन्दा ठूलो आकारको बजेटसहित नीति–कार्यक्रम पारित गरेको हो ।
हालै सम्पन्न नगरपरिषद्ले अघिल्लो वर्षको भन्दा करीब ८ करोड बढीको बजेट पारित गरेको हो । नगरपालिकाकाले शुक्रबार पत्रकार भेटघाट गर्दै माघ दोस्रो साता सार्वजनिक गर्नेगरी नगरपालिकाले महत्वाकाङ्क्षी योजना निर्माणलाई अगाडि बढाउने लगायतका कार्यक्रम समेटेर बजेट पारित गरेको जानकारी दिएको हो । पारित बजेटमध्ये आन्तरिक स्रोतबाट १० करोड र बाह्य स्रोतबाट १६ करोड जुटाउने योजना छ । कार्यकारी अधिकृत युवराज दाहालले यस क्षेत्रका राष्ट्रिय स्तरका सबैभन्दा ठूलो बुद्धको मूर्ति, औद्योगिक क्षेत्र, फाल्गुनन्द सभाहल, भ्युटावर, दमक–चिसापानी–रवि सडक निर्माण, चक्रपथ निर्माण जस्तो योजनालाई महत्वका साथ अघि बढाउने जानकारी दिए । उनका अनुसार यी योजनामध्ये केही निर्माण शुरु गरिएको, केहीको डिपीआर बनाउने काम भइरहेको र केही तुरुन्त काम शुरु गर्ने अवस्थामा छन् ।
यस्तै प्रदेश नं. १ को प्रज्ञा प्रतिष्ठान, नाट्यशाला, आर्ट ग्यालरी निर्माणका लागि यो वर्ष डिपीआर निर्माण गरिने योजना पारित गरिएको छ । पारित बजेट, नीति कार्यक्रममा स्थानीय पुनःसंरचनामा उल्लेख भएअनुसार वडा केन्द्रहरुमा वडा कार्यालय निर्माण, व्यवस्थापन र निर्वाचित जनप्रतिनिधिका लागि कार्यालय व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिइएको छ । कार्यकारी अधिकृत दाहालका अनुसार नगर क्षेत्रमा सौर्यबत्ती जडान, ढल निर्माण, पूmटपाथ निर्माण, वृक्षारोपण, सडक निर्माणलाई उच्च प्राथमिकता दिइएको छ ।खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नगरमा स्पोर्ट्स एकाडेमी निर्माणका लागि डिपीआर बनाउने, बालउद्यान र थिएटर निर्माण गरिने, बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिने, नदी नियन्त्रण, ग्रिनबेल्ट र ढल प्रशोधन केन्द्र निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
फोहोर व्यवस्थापन, विषादी जाँचका लागि खाद्य प्रयोगशाला निर्माण र दमक–१२ को गोसखानलाई अन्यत्र सारिने कार्यक्रम छ । यस्तै नगरपालिकाले स्थानीय पत्रकारहरुको हितका लागि पनि बजेट र कार्यक्रम समावेश गरेको छ । नगरपालिकाले पत्रकार सुरक्षा योजना अन्तर्गत अक्षयकोष स्थापना गरी स्थानीय पत्रकार मञ्चलाई आवश्यक बजेट दिने निर्णय गरेको छ । यस्तै यो वर्षदेखि दमकको विकास, वातावरण व्यवस्थापन र पहिचान स्थापना गर्न क्रियाशील पत्रकारलाई २५ हजार रुपैयाँ र ताम्रपत्रले सम्मान गरिने जानकारी दिँदै कार्यकारी अधिकृत दाहालले पत्रकार मञ्च दमकलाई भवन निर्माणका लागि तत्काल जग्गा पनि उपलब्ध गराइने बताए ।