धनकुटा/आगामी एक वर्षका लागि १० करोड २८ लाख ४३ हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाख्रिबास नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि कृषि पर्यटनको विकासको लक्ष लिएको छ ।
अर्गानिक खेली प्रणालीसहित आन्तरिक र बाह्य पर्यटनको विकास गर्दै आर्थिक विकासमा लाग्ने स्थानीयको चाहनाअनुरुप आगामी वर्षको नीति तथा कार्यक्रम बनाएको नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेले बताएका छन् ।तराईदेखि हिमाली क्षेत्रसम्मको हावापानी भएको क्षेत्र भएकाले कृषि उपजका वस्तु उत्पादन गर्ने पर्याप्त सम्भावना रहेको भन्दै कृषिजन्य एवं पशुपक्षीजन्य उत्पादन र बजारको सहज बनाउने आवश्यक पूर्वाधारमा बजेट विनियोजन गरिएको जनाइएको छ ।
आवश्यक पूर्वाधार र कर्मचारी अभाव रहेको नगरपालिकाको कुल ४९ लाख रुपैयाँ आन्तरिक आम्दानी रहेको कार्यकारी अधिकृत घिमिरेले बताएका छन् ।कार्यकारी अधिकृत घिमिरेको अध्यक्षतामा सम्पन्न बजेट सार्वजनीकीकरण कार्यक्रममा प्रजिअ प्रेमप्रकाश उप्रेती, स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटा, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थ धिताल, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, नगरविकास समितिका अध्यक्ष ज्ञानु गुरुङ, पाख्रीवास नगरपालिकामा क्रियाशिल दलका प्रतिनिधिहरु, नागरिक समाज, आदिवासी जनजाति, महिला एवं दलित सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले बजेटले लिएको लक्ष पूरा होस् भन्ने कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
































