धनकुटा/ पूर्वाञ्चलमा बितेको एक वर्षको अवधिमा एक हजारभन्दा बढी मानवअधिकार हनन् र ज्यादतीका घटना भएका छन् ।सन् २०१६ को जनवरीदेखि डिसेम्वर महिनासम्मको अवधिमा पूर्वाञ्चलमा भएका एक हजार १२ वटा मानवअधिकार हनन् र ज्यादतिका घटनामा एक हजार ३५ व्यक्ति पीडित रहेको जनाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले मङ्गलवार सदरमुकाम धनकुटामा सन् २०१६ को पूर्वाञ्चलको मानवअधिकारको अवस्था र सञ्चारकर्मी एवं मानवअधिकार रक्षकको सवाल विषयक छलफलमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।उक्त अवधिमा राज्य पक्षभन्दा गैरराज्यपक्षबाट उल्लङ्घनका घटना बढी भएको देखिएको छ । राज्यपक्षबाट १५ पुरुष र ३ महिला गरी १८ पीडित भए भने गैरराज्य पक्षबाट एक हजार १७ व्यक्ति पीडित भएका छन् । यस क्रममा ९ सय ४५ महिला र ७२ जना पुरुष पीडित रहेको इन्सेक पूर्वाञ्चल प्रमुख सोमराज थापाले जानकारी दिएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष पूर्वाञ्चलमा मानवअधिकार हनन्का ४ सय ९ घटनामा कमी आएको उनले बताएका छन् ।सन् २०१६ मा पूर्वाञ्चलमा हत्याको घटनामा ४९ जनाले ज्यान गुमाएका छन् । जसमा राज्य पक्षबाट एक महिला र दुई पुरुष गरी तीनजना र गैर राज्यपक्षवाट १९ महिला र २७ पुरुष गरी ४६ जनाको हत्या भएको इन्सेक पूर्वाञ्चलका प्रलेख अधिकृत देवराज पोखरेलले बताएका छन् । उक्त अवधिमा गोलीद्वारा पाँचजना घाइते भएका छन् भने गैरकानुनी गिरप्mतारीमा तीनजना पीडित हुनुका साथै यातनाबाट १ महिला र ३ पुरुष गरी चारजना पीडित भएका छन् ।
प्रहरीको कुटपिटबाट एक महिला र २ पुरुष गरी ३ जना पीडित भएको प्रलेख अधिकृत पोखरेलले बताएका छन् ।सन् २०१६ को अवधिमा हिंसामा पर्ने महिलाको सङ्ख्या अन्य घटनामा भन्दा बढी रहेको छ । महिलामाथिको हिंसाको घटनाबाट पूर्वाञ्चलमा एक वर्षको अवधिमा ७ सय ३० जना महिला पीडित भएको इन्सेक पूर्वाञ्चल प्रमुख सोमराज थापाले जनाएका छन् ।