विजयपुर/ सुकुम्बासीहरूले घर दर्ता नम्बर दिएर घरधुरी कर उठाउने निर्णय तत्काल कार्यान्वयन गर्न धरान उपमहानगरपालिकासँग माग गरेका छन् । आपूmहरू पनि घरधुरी कर तिर्न तयार रहेको भन्दै एमालेनिकट नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन नगर कमिटीले धरान उपमहानगरपालिकामा १३ बुँदे माग राख्दै ज्ञापनपत्र पनि बुझाएको छ ।

धरान उपमहानगरपालिकाका वरिष्ठ कर अधिकृत खगेन्द्रप्रसाद खतिवडाले सुकुम्बासीहरूसँग घरधुरी कर लिने र घर नम्बर दिने विषयमा प्रक्रिया थालिएको बताए । सङ्गठनले बुझाएको ज्ञापनपत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई भोगचलन गर्दै आएको जग्गाको स्थायी धनीपुर्जा वितरण गरिनुपर्ने, बिजुलीको मिटर जडान गर्दा नेपाल विद्युत् प्राधिकरणले १ हजारको ठाउँमा १० हजार लिन थालेकोमा साविकको १ हजार नै कायम गरिनुपर्ने, वर्षायाममा खोला तथा ढलहरुबाट प्रताडित हुनुपर्ने स्थानहरुको पहिचान गरी उचित तटबन्धन, बाँध र ढल निकासको प्रबन्ध गरिनुपर्ने, बसोबास गरिरहेको बस्तीभित्र विकासका नाममा उठिबास गराउनुपूर्व वैकल्पिक स्थानमा बसोबास गराउने नीति अपनाउनुपर्ने, सुकुम्बासी बस्ती आधारभूत बस्ती भएकाले त्यहाँ फराकिलो बाटो निर्माण, ढल निकासको प्रबन्ध, विद्यालय, स्वास्थ्य चौकी जस्ता प्रत्यक्ष सरोकारका कार्यालयहरु निर्माण गरिनुपर्ने, खानेपानी आयोजना सुस्त गतिमा भइरहेकोले यसलाई द्रूत गतिमा अघि बढाएर पानीको उचित वितरण गरिनुपर्ने, गरीब सुकुम्बासीका छोराछोरीलाई निजी विद्यालयमा समेत सहुलियतमा पठनपाठन गर्ने वातावरण मिलाइनुपर्ने, सुकुम्बासी बस्तीभित्र विभिन्न आश्वासन देखाएर रकम असुली गर्नेहरूलाई छानविन गरी कारबाही गरिनुपर्ने, सुकुम्बासी बस्तीमा चलखेल गर्ने भूमाफियाहरूलाई कार्वाही गर्नुपर्ने, स्थायी रुपमा बसोबास गरेका सुकुम्बासीहरुलाई कुनैपनि प्रयोजनका लागि बसोबासको प्रमाण सिफारिस गर्दा स्थायी बसोबासको सिफारिस गरिनुपर्ने, बजेट विनियोजन गर्दा सुकुम्बासीहरुलाई लक्षित वर्गमा समावेश गराइनुपर्ने र नगरका कुनै पनि विकास निर्माणसम्बन्धी निर्णय गर्दा सुकुम्बासीहरुको अनिवार्य सहभागिता गराइनुपर्नेलगायतका माग राखिएको छ ।