विजयपुर/धरानमा दूषित तथा अस्वस्थकर मासु मासु बिक्री हुने गरेको पाइएपछि धरान उपमहानगरपालिका र मासु व्यवसायीले खुल्ला ठाउँमा मासु बिक्री गर्न प्रतिबन्ध लगाउने भएका छन् । मासु बिक्रीका लागि आवश्यक मापदण्ड पूरा नगरी बध तथा बिक्री गरिए त्यस्ता ब्यापारी तथा व्यक्तिविरुद्ध उपमहानगरपालिकाले कारबाही चलाउने भएको हो ।
धरानका सडकपेटीदेखि फोहोर थुप्रिएको ठाउँमा पनि मासु बिक्री तथा मासुका लागि पशुपक्षीको बध हुने गरेको विषयमा सर्वत्र चासो भएको थियो ।धरान उपमहानगरपालिका र मासु व्यवसायीहरुले बिहीबार मासु व्यवसायी र सरोकारवालाहरुको भेला गरी मापदण्डअनुसार बध गर्न र मासु बिक्री गर्ने निर्णय नै गरेका छन् । मासुको दाममा एकरुपता ल्याउने र तोकिएको भन्दा बढी वा घटी मूल्यमा मासु बिक्री गरिए कारवाही प्रक्रिया अगाडि बढाउन दुबै पक्ष सहमत भएका छन् । व्यवसायीहरुले धरानमा व्यवस्थित बधशालाको व्यवस्था गर्नपनि माग गरेका छन् । उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाले तोकिएको मापदण्डभित्र रहेर पशु बध गर्न र मासु बिक्री गर्न आग्रह गरे ।
अहिले धरानमा मासु पसलहरु दर्ता नगरी सञ्चालन भइरहेको भन्दै उनले दर्ताबिना सञ्चालन भएका मासु पसलहरु तत्कालै हटाउने बताए । जिल्ला पशुसेवा कार्यालय सुनसरीका अधिकृत मनोजकुमार महतोले अव्यवस्थित रुपमा मासु बिक्री गर्नेलाई कारवाही थाल्ने बताए । नस्वास्थ्यसँग खेलवाड गर्नेगरी मनपरीरुपमा मासु बिक्री भइरहेको पाइएकाले मापदण्ड विपरीत मासु बिक्री गर्नेलाई कारवाही गरेरै छाड्ने उनले बताए । व्यवसायीहरुले पनि सडकपेटीमै माछा तथा मासु बिक्री गर्नेलाई तत्काल हटाउन उपमहानगरपालिकालाई आग्रह गरेका थिए ।
‘मासु बिक्रीका लागि सरकारले तोकेको मापदण्ड कार्यान्वयन गर्न व्यवसायीहरुलाई अनुरोध गर्ने र अनुरोधलाई बेबास्ता गरिए कारवाही प्रक्रिया अघि बढाउन व्यवसायीहरु पनि तयार रहेको भिआरसी मिट मार्ट धरानका प्रोप्राइटर मदन तामाङले बताए । बिहीबार आयोजित कार्यक्रममा मासु व्यवसायी, धरान उपमहानगरपालिका, जिल्ला पशुसेवा कार्यालय तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो । धरानको बधशाला तथा पासु बिक्रीसम्बन्धी आवश्यक निर्णय गर्न माघ ६ गते बैठक बसेर निर्णय लिने धरान मासु व्यवसायी सङ्घका सदस्य तथा कार्यक्रम सञ्चालन समिर तामाङले बताए । कार्यक्रम धरान मासु व्यवसायी सङ्घका अध्यक्ष गोपाल खड्गीको अध्यक्षतामा भएको थियो ।