भद्रपुर/बधशाला भित्र खसी भन्दै बाख्राको मासु बेच्ने एक व्यापारीलाई साढे ५२ किलो मिसावट मासुसहित प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुरमा रहेको बधशालमा विगत देखनै बाखा्र मिसाएर खसीको मुल्यमा विक्रीवितरण गर्दै आएका कारोबारीलाई उपभोक्ताको उजुरीको आधारमा प्रहरीले मासुसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भद्रपुर ६ का अन्दाजी ४४ वर्षिय मासु व्यापारी विजय साह(सोनार) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बधशाला भित्र नियम विपरित पसलमा खुलेआम खसीमा बाख्राकोे मासु मिसाएर बिक्रीवितरण गरिरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बुधवार विहान बधशालावाटै पक्राउ गरेको वडाका इन्सपेक्टर कुल प्रसाद चौधरीले बताए । प्रहरीले उनको पसलबाट साढे ५२ केजी मिसावट मासु समेत बरामद गरेको छ । बरामद गरिएको मासुलाई प्रहरी कार्यालय परिसरमा सोहि दिन नष्ट गरिएकोे छ ।
व्यापारी शाहलाई कालोबजारी ऐन २०३२ अनुसार मुद्धा दर्ता गराई आवश्यक कार्वाहीका लागि हिरासतमा राखिएको प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए । शाहले बाख्रा मिसाएको स्विकार गरेका छन् । भद्रपुर नगर क्षेत्रमा मासुमाछा व्यवस्थापन र अनुगमनमा भद्रपुर नगरपालिकाले चासो नदेखाउदा नगरका उपभोक्ताहरु ठगिदै आएका छन् । बधशाला भन्दा बाहिर विभिन्न स्थानमा मापदण्ड विपरित मासुपसल रहेपनि अनुगमन समिति रमिते बनेर बसेको पाइएको छ ।