विजयपुर/ ‘लडाकूदेखिशान्ति निर्मातासम्म’ कार्यक्रम अन्तर्गत धरानमा ‘घुम्ती कोष’ स्थापना गरिएको छ । सशस्त्र पूर्वलडाकूदेखि शान्ति निर्माण गर्ने विपन्न नागरिकहरूसम्मको जीविकोपार्जनका लागि यो कोषबाट सहयोग प्रदान गरिने छ ।यो कार्यक्रम अमेरिकी सहयोग नियोगको सहायतामा प्रोपब्लिक नेपालद्वारा सञ्चालित छ ।
जीविकोपार्जनका लागि व्यवसाय गर्न समुदायका विपन्न परिवारहरूलाई एक प्रतिशत ब्याजमा कोषबाट सहयोग गरिने कार्यक्रमका संवाद तथा मेलमिलाप सहजकर्ता विनोद विश्वकर्माले जानकारी दिए । समुदायका सदस्यहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले सामाजिक संवाद समूह र घुम्ती कोष स्थापना गरिएको उनले जनाए । ‘यो कार्यक्रमले समुदायमा हुने द्वन्द्वहरूलाई समाधान गर्दै शान्ति र सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने छ ।’ उनले भने । धरान उपमहानगरपालिकामा सोमबार ६० हजार रुपैयाँको कोष स्थापना गरिएको छ ।
धरान उमनपाले पनि कोषमा सहयोग गर्ने भएको छ । सोही अवसरमा उमनपाकाका सामाजिक विभाग प्रमुख सुनिल नेपालको संयोजकत्वमा २० सदस्यीय कोष व्यस्थापन समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा पूर्वमाओवादी लडाकू तथा संवाद सहजकर्ता हर्कराज राई छन् भने सदस्यहरू हेमा थलङ, गङ्गा पौडेल बराल, अमृताकुमारी राई, स्वर्णिमहाङ लिम्बू, शरण तामाङ, विनोद विश्वकर्मा, उत्तरबहादुर लिम्बू, सङ्गीता सुब्बालगायत छन् ।
कोषका सल्लाहकारहरू रमेशकुमार शाह र मञ्जु भण्डारी छन् । धरानमा नौवटा संवाद समूह गठन भएको बताउँदै लोकतन्त्र र सुशासनअन्तर्गत घुुम्ती कोष स्थापना गरिएको सहजकर्ता विकले जानकारी दिए ।