धरान/धरानको विकासमा कोशेढुङ्गाको रुपमा मानिएको धरान विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढेको छ । सरकारले हालै डेढ करोड बजेट विनियोजन गरेसँगै ईआइर्एको काम अघि बढेको हो । निजी स्तरबाट यती इन्कर्पोरेटले विमानस्थल बनाउने चर्चा २०६० सालदेखि नै चले पनि एक दशकपछि मूर्त रुप लिने सङ्केत देखा परेको छ तर यसका लागि सबैभन्दा महत्वपूर्ण काम ईआईए सम्पन्न भए निर्माण कार्य अघि बढ्ने छ । ईआईए गर्नुपूर्व क्षेत्र निर्धारण (टीओआर) अर्को महत्वपूर्ण पाटो हो । त्यसले पूर्णता पाएपछि धरानमा विमानस्थलको खाका अघि बढ्ने छ ।
‘ईआईएको रिपोर्ट दिनेबित्तिकै एयरपोर्टको काम अघि बढ्छ ।’ नागरिक उड्डयन प्राधिकरणबाट अध्ययनका लागि धरान आएका इञ्जिनियर पुष्पराज न्यौपानेले आइतबार भने । प्राधिकरणले धरान उपमहानगरलाई २०६९ वैशाख १७ गते नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्माणको लागि स्वीकृति पत्र पठाएको थियो । त्यस बेला गरिएको विस्तृत सम्भाव्यता अध्ययनले १९ बिघा जग्गा चाहिने भनी प्रतिवेदन दिएको थियो जसमा ७५० मिटर लम्बाइ र २३ मिटर चौडाइको धावन मार्ग (रनवे) हुने उल्लेख छ । त्यसमा १८–१९ सीट क्षमता हुने ट्विनअटर विमान मात्रै कुद्न सक्ने बताइएको थियो । हाल छुट्टिएको बजेटले भने ४५ भन्दा माथि सीट क्षमताको विमान उड्न सक्ने गरी विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिने तयारी भइरहेको इञ्जिनियर न्यौपानेले बताए । यसका लागि करीब ४० बिघा जग्गा आवश्यक हुन्छ । सो जग्गा नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा आउनेबित्तिकै प्राधिकरणले विमानस्थलको काम अघि बढाउने उनले बताए ।
‘एयरपोर्ट बनाउन प्राधिकरण बाधक छैन, जग्गाको व्यवस्थापन हुनेबित्तिकै काम अघि बढ्छ ।’ उनले भने । जग्गा व्यवस्थापनका लागि धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको सात बिघा, यती इन्कर्पोरेटको स्वामित्वमा रहेको करीब साढे सात बिघा र नम्बरी जग्गाहरूका लागि सार्वजनिक सुनुवाइ गर्न तयार रहेको धरान उपमहानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । ‘नगरपालिकाले एयरपोर्टका लागि मुआब्जा दिएर पनि आयोजनालाई अघि बढाउँछ ।’ उनले भने । कार्यकारी अधिकृत कोइराला आएलगत्तै पुराना आयोजनाहरुलाई अघि बढाउने तयारी गरेका हुन् जसअनुरुप यो आयोजना दोस्रो प्राथमिकतामा रहेको कोइरालाले बताए । धरानवासीको अपेक्षा भने ट्विनअटरमात्रै हैन ।
एटीआर ४२ सम्म चल्न सक्ने क्षमताको विमानस्थल बन्नुपर्ने माग उनीहरूको छ । यसका लागि धरान उपमहानगरले सूचना अधिकृत भक्तिराज शर्मालाई प्रोजेक्ट म्यानेजर तोकेको छ । शर्माले जग्गा व्यवस्थापनलगायतका काम गर्ने छ । ‘सम्पर्क कार्यालय खोल्ने तयारी भइरहेको छ ।’ कार्यकारी अधिकृत कोइरालले भने । चाँडै नै स्थानीयवासी र राजनीतिक दलहरूबीचमा सार्वजनिक सुनुवाइ गर्ने तयारीसमेत भइरहेको छ । ठूलो विमानका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने इञ्जिनियर न्यौपानेले बताए ।
हालसम्म ईआईए तयारीका लागि नै बजेट विनियोजन गरिएको छ तर स्थानीय स्तरबाट थप सहयोग र दवाब आवश्यक छ । २०६४ सालपछि बनेका सरकारका हरेक पर्यटन मन्त्री धरानमा विमानस्थल बनाउने विषयमा सकारात्मक छन् । ईआईएका लागि नागरिक उड्डयन मन्त्रालयबाट वातावरण मन्त्रालयमा गए मात्रै काम अघि बढ्ने सङ्केत इञ्जिनियर न्यौपानेले गरे ।