hatyaइटहरी/सुनसरीको दुहबीस्थित मनास्लु बोर्डिङ स्कुलमा सहयोगीका रुपमा कार्यरत् पवित्रा विष्टको हत्याको कारण अझै खुल्न सकेको छैन ।नेपाल प्रहरीको पूर्वी अनुसन्धान ब्युरो, सुनसरी जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयका प्रमुखहरू हत्याको अनुसन्धानमा लागेका छन् । सुनसरी प्रहरी प्रमुख, एसपी पोषराज पोखरेलले भने ‘अनुसन्धान भइरहेको छ, हत्याको कारण र संलग्नताबारे यकिन हुन बाँकी छ ।’ केही दिनमा हत्याको कारण र संलग्नको पहिचान हुने पनि उनले बताए । दुहबी इलाका प्रहरी कार्यालयका अनुसार शवको पोष्टमार्टम रिपोर्ट आइतबार (भोलि) आएपछि अनुसन्धानमा थप सजिलो हुने छ ।

बिहीबार बिहान विद्यालय परिसरभित्रै ३५ वर्षीया विष्टको हत्या भएको थियो । प्रहरीका अनुसार विष्टको घाँटी रेटेर हत्या भएको हो । उनी स्कुल तथा प्रिन्सिपलका सहयोगीका रुपमा कार्यरत् थिइन् । आफु मर्निङवाकमा रहेको समयमा बिहान ५ देखि ६ बजेको समयमा विद्यालय परिसरमै उनको हत्या भएको प्रिन्सिपल शंकर थापाले बताए । प्रष्ट रुपमा बोल्न नसक्ने ती महिला दुई वर्षदेखि त्यहाँ काम गरिरहेकी थिइन् ।

शवको पोष्टमार्टमपछि शुक्रबार परिवारजनले विष्टको अत्येष्टी गरेको दुहबीका इन्स्पेक्टर शिव पोखरेलले बताए । ती महिलाको घर मोरङको जामुनगाछी र माइती सुनसरीको रामगञ्ज बेलगछिया रहेको पनि उनले बताए ।