विजयपुर/सुनसरीको विकट र असुरक्षित मानिने श्रीलङ्टापुमा रहेको स्वास्थ्य केन्द्रका कर्मचारी तलब नपाएपछि विस्थापित हुने अवस्थामा पुगेका छन् । पूर्वी नेपालको सुगम र सम्पन्न मानिने सुनसरी जिल्लाको प्रकाशपुर गाविस–४ र ५ तथा महेन्द्रनगर गाविसको ५ नम्बर वडामा पर्ने श्रीलङ्काटापुमा चार महिनाअगाडि पुनःस्थापना गरिएको स्वास्थ्य केन्द्रका कर्मचारीले चार महिनायता तलब नपाएको बताएका छन् ।
केन्द्रका अहेव राजेन्द्र थापाले विकट ठाउँमा काम गरे पनि समयमा तलब नपाउँदा काम गर्न समस्या भएको गुनासो गरे । तलब नपाएकै कारण कर्मचारीहरु विस्थापित हुने अवस्थामा पुगेपछि स्थानीय पनि चिन्तित भएका छन् ।झण्डै पाँच हजार जनसङ्ख्या रहेको सो गाउँको पुनःस्थापित स्वास्थ्य केन्द्रमा एकजना अहेव र एकजना अनमी गरी दुईजना कर्मचारी राखिएको छ । यसअघि पनि समयमा तलब नपाएकै कारण २०७० सालमा तत्कालीन उपस्वास्थ्य चौकीका कर्मचारीहरु विस्थापित भएका थिए । त्यस बेला त्यहाँ कार्यरत् कर्मचारीलाई जिल्ला विकास समितिले तलब दिने गरेको थियो तर २०७० सालदेखि जिविसले कर्मचारीलाई तलब दिन नसक्ने बताएपछि उपस्वास्थ्य चौकी बन्द भएको टापुका शिक्षक सन्तोष चन्द्रवंशी बताउँछन् ।
भन्छन्, ‘अहिले पनि तलब नदिएकै कारण कर्मचारीहरू विस्थापित हुन लागेका छन् । हामीलाई हरेक कुरामा राज्यले हेपेको छ ।’ शिक्षक चन्द्रवंशीले आधारभूत स्वास्थ्य उपचार गर्न पाउने आपूmहरुको मौलिक अधिकार राज्यले नै खोसिरहेको जनाए ।गत असोज १ गते प्रारम्भ भएको स्वास्थ्य केन्द्रका कर्मचारीले शुरुदेखिकै तलब पाउन सकेका छैनन् । केन्द्रका अहेव थापा भन्छन्, ‘तलब माग्न धेरैपटक जिल्ला स्वास्थ्य कार्यालय पुगिसकेँ तर हरेकपटक कुनै न कुनै बहाना बनाएर टारिदिन्छन् ।’ असोजदेखि अहिलेसम्म झण्डै एक हजार स्थानीयले केन्द्रबाट सेवा लिएका छन् । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बद्रीकुमार राईले सरकारी कार्यालयहरूकै कारण आपूmहरू पीडित भएको बताए । कार्यालयहरूले दुःख दिने गरेकै कारण आपूmहरूले कार्यालयमा धाउन छाडेको उनले बताए । केन्द्रकी अनमी इन्दु गौतमले विकटमा आएर काम गर्दा पनि सरकारी स्केलको तलब नभएको र भएको तलब पनि नपाउँदा अर्को अवसर आए काम छाड्ने मनस्थिति बनाएको बताइन् ।‘यति विकटमा आएर काम गरेका छौँ, हात्तीको डरले राति राम्रोसँग सुत्न पनि सकिँदैन’, अनमी गौतमले भनिन्, विकटमा आएर काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने कुनै सुविधा दिइएको छैन, दिइएको सुविधा पनि सुगमको भन्दा दुर्गमको कम छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मुकुन्दराज गौतमले आपूm नयाँ भएकाले कार्यालयका कामकारवाही बुभ्ने प्रक्रियामा रहेको बताउँदै टापुका कर्मचारीलाई आउँदो आइतबार (१७ गते) भित्र कुनै पनि हालतमा तलब खुवाउने बताए । ‘अब नियमित तलब खाने वातावरण बनाउँछु’, उनले भने, ‘काम गर्ने कर्मचारीले समयमै तलब पाउनुपर्छ ।’