repकाठमाडौं/ एक युवतीलाई नायिका बनाइदिने भन्दै जवरजस्ती गरेको अभियोगमा मंगलवार पुतलीसडकस्थित होटल तिरुपातीबाट पक्राउ परेका अभय खड्का अपहरण तथा शारीरिक बन्धक मुद्दाका फरार अभियुक्त भएको पत्ता लागेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रद्युम्न कार्की अनुसार, काभ्रे श्यामपाटी घर भई हाल काठमाडौं र पोखरा लगायतका विभिन्न शहरमा घुमन्ते बसोवास गर्दै आएका खड्काविरुद्ध २०६९ साल चैतमा जिल्ला अदालत कास्कीले यस्तै प्रकृतिको मुद्धामा छ वर्ष कैद र सातलाख ४४ हजार रुपियाँ जरिवाना सजाय सुनाएको थियो।

पोखरास्थित होटल सन्तोषीमा एक युवतीलाई नायिका बनाइदिने भन्दै कोठामा बन्धक बनाउनका साथै जवरजस्ती करणी गरी फरार खड्का विरुद्ध परेको जवरजस्ती करणी मुद्धामा जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको थियो ।

फैसलापछि पोखरा कारागारमा कैद सजाय भुक्तान गरिरहेका खड्का एक महिनाअघि मङ्सिर ९ गते बिसञ्चो भयो भन्दै कारागारबाट अस्पताल जाने बाहानामा बीच बाटोबाटै प्रहरी घेरा तोडी भागेका थिए। मोडल तथा नायिका बनाउने नाममा अन्तरवार्ता लिन होटलमा बोलाइ खड्काले काठमाडौं र पोखरामा गरी छ जना युवतीलाई दुरब्यवहार गरेको पाइएको छ। उनले जवरजस्ती करणीका साथै नगद र सुनका गरगहना समेत लुटपाट गरी फरार हुने गरेका थिए।

पोखराबाट भागेर काठमाडौं आएका खड्काले मंसिर १७ गते सुन्धारास्थित सोनी गेष्टहाउसमा एक युवतीलाई यस्तै प्रकृतिको अपराध गरी भागेको र प्रहरीले खोजी गर्ने क्रममा होटल तिरुपतीमा अर्की युवतीसँग यस्तै अपराध गर्दागर्दै पक्राउ परेका हुन् ।