भद्रपुर/अबको ६ महिना भित्रमा पूर्वका झापा, मोरङ र सुनसरी जिल्ला र भारतको विहार राज्यसंग जोडिएका सीमाका स्तम्भ निर्माणको काम सम्पन्न गरिने भएको छ । नेपाल र भारतका सीमा क्षेत्रका अधिकारीहरुले विहीबार झापाको विर्तामोडमा सम्पन्न दुई देशका सीमा अधिकारीहरुले यस्तो निर्णय गरेका हुन् ।नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार आगामी सन् २०१७ को मध्यसम्ममा पूर्वका सबै स्तम्भका काम गरिसक्ने निर्णय गरेको बताए ।
देशभरका सीमा स्तम्भ बनाउने र मर्मत गर्ने काममा भारत र नेपालका अधिकारीहरु सम्मिलित जम्मा तीनवटा टोली परिचालित भएको उनले बताएका छन् । पूर्वको टोलीले विगत दुई बर्षमा मर्मत गर्नुपर्ने ७ सय ८४ सीमा स्तम्भमध्ये ६ सय १० वटा मर्मत गरिसकेको छ । हराएका वा नबनाएका ३ सय ८९ पिलरमध्ये ८३ वटा स्तम्भ बनाइसकिएको अधिकारीहरुले बताएका छन् । देशभरमा कति स्तम्भ मर्मत गर्नुपर्ने र कति नयाँ बनाउनुपर्ने भन्ने आधिकारिक तथ्यांक आइनसकेको दुवै देशका अधिकारीहरुले बताएका छन् । उनीहरु भन्छन् जटिल समस्या भएका अन्य सीमा क्षेत्रका काम सुरु नै गरिएको छैन ।
जस्का कारण सबै सीमा स्तम्भलाई व्यवस्थित गर्न अझै केही बर्ष लाग्ने भारतीय नापी अधिकारी केबी खत्रीले बताए ।सन् २०१४ देखि सुरु भएको नेपाली र भारतीय अधिकारीहरुको संयुक्त प्रयासमा नेपाल र भारतवीचका सीमा स्तम्भहरु मर्मत तथा नबनेका वा हराएका ठाउँमा नयाँ स्तम्भहरु बनेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले यो दुई देश विचको नियमित वैठक भएकोले २५ डिसेम्बरवाट काम सुरु गर्नकोलागी वैठक वसेको बताए ।
वर्षायामको समयमा काम नहुने भएकोले हिउँदमा काम तिब्ररुपले निरन्तर गरिरहने भएकोले कुन अबधि भन्दापनि काम सुचारु गर्नको लागी ‘गो अहेड’ भएको प्रजिअ खत्रीले बताए । जम्मा ११ सय ७३ मुख्य स्तम्भ मध्ये १ सय ११ मुख्य,१सय ९९ मध्यम र बाँकी सामान्य रहेको उनले बताए । हाम्रो काम भनेको मर्मतसम्भार,पुर्ननिर्माण,स्थान छनौट जस्ता महत्वपुर्ण भएको उनको भनाई छ ।बैठकमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरु, नापी विभागका अधिकारीहरु तथा भारतीय प्रहरी, सशस्त्र सीमा सुरक्षा बलका अधिकारीहरुको सहभागिता थियो ।