उर्लाबारी (मोरङ)/पुरानो सदरमुकाम रङ्गेली नगरपालिकाको एउटा मुसहर गाउँका कसैका घरमा पनि शौचालय छैन । नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि रङ्गेली – ९ स्थित भङ्गिटोलमा शौचालयका लागि कुनै पहल नगरिएको स्थानीयवासीको गुनासो छ । सो गाउँमा मुसहर समुदायका एक सय ११ परिवार बस्दै आएका छन् । उनीहरुको बसोवासका लागि २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा प्लानको सहयोगमा ५८ घर निर्माण गरिएको थियो । ती परिवार अहिले पनि प्लानले बनाएको घरमा बस्दै आएका छन् । अतिविपन्न वर्गका मुसहर समुदाय सोझा र इमान्दार मानिन्छन् । कुनै संस्थाले शौचालय निर्माण नगरेपछि आफूहरु शौचका लागि नजिकैको घागी खोला जाने गरेको मानिकचन्द्र ऋषिदेवले बताउनुभयो । नगरपालिकालाई पटक पटक आग्रह गरिए पनि त्यहाँका कर्मचारीले प्लानले बनाएको घरमा प्लानले नै शौचालय बनाउँछ भन्दै आफूहरुलाई फर्काउने गरेको उनको गुनासो छ । शौचालय नभएपछि महिला र पुरुषलाई शौच गर्नसमेत समस्या छ । शौचालय नहुँदा सरसफाइमा समेत समस्या हुने गरेको विशेश्वर ऋषिदेवको भनाइ छ । यसरी जथाभाबी शौच गर्दा रोग फैलन सक्ने भएकाले चाँडै शौचालय निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् । रासस