[caption id="attachment_21593" align="aligncenter" width="665"]saptari जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरीले आरोपीहरुलाई सार्वजनिक गरेकाे छ ।[/caption] राजविराज /  सप्तरीमा ८ वर्षीय बालकको हत्या भएको २० दिनपछि प्रहरीले बालकको शव शौचालयको सेफटी टयाङकबाट बरामद गरेको छ  । उनकाे अपहरण  पछि  हत्यामा गरिएकाे पुष्टी भएकाे छ ।  अपहरण र  हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।
सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार जिल्लाको पश्चिमी गाविस हरिपुर-३ का रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्दको अपहरणपछि हत्या भएको हो । छिमेकी चुडामणि ठाकुरले गत मंसिर ११ गते साँझ ६ बजे बालक दुर्गानन्दलाई खरायो देखाइदिने भन्दै अपहरण गरि आफनो घर लगेको प्रहरी अनुसन्धानबाट थाहा भएकाे छ । प्रहरी उपरीक्षक लोहनीका अनुसार ठाकुरले अन्य सहयोगी सहित बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरि छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टी टयाङकीमा लुकाएका थिए । अपहरण र हत्या गरेको ६ दिन पछि ठाकुरले बालक दुर्गानन्दकी आमा ममतादेवीलाई मोबाइलमा म्यासेज पठाउँदै पाँचलाख रुपैयाँ नदिए तथा प्रहरीलाई खबर गरे बालकको ज्यान लिने भन्दै धम्क्याएका थिए । म्यासेज पठाउनु अगावै ११ गते नै दुर्गानन्दको हत्या गरिसकेको उपरीक्षक लोहनीले बताए । मंसिर ११ गते बालक हराएपछि अनुसन्धानमा जुटेको प्रहरीले कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी संलग्न आरोपीलाई पक्राउ गर्न सफल भएको लोहनीले बताए । प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा हरिपुर-३ का चुडामणि ठाकुर, हरिपुर-१ का सामबाबु गुप्ता र देउरी गाविस-२ का कपिलदेव दासलाई नियन्त्रणमा लिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरीले आरोपीहरुलाई सार्वजनिक गरेकाे छ । शौचालयको सेफ्टी टयाङकीमा फेला परेका बालकको शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको डिएसपी दानबहादुर कार्कीले बताए ।