teacher-with-stickसंखुवासभा/प्रधानाध्यापकबाट निर्घात कुटिएका खाँदबारी–१३ स्थित सिंहेश्वरी निमावि बोहराटारमा कक्षा ६ मा अध्ययनरत अनिल भण्डारी अझै त्रसित छन् । मदिरा सेवन गरेर आएका प्रअ दुर्गाबहादुर कुमालले १२ वर्षीय अनिललाई बिनाकारण मंसिर १३ गते निर्घात कुटेका थिए । त्यसपछि जिल्ला अस्पताल खाँदबारीमा उपचार गराएर घर फर्किएका भण्डारी विद्यालय जान डराउँछन् । छिन्छिन्मा प्रअले कुटेको सम्झने गरेको उनको आमा मञ्जुले बताइन् ।

विद्यालय गएको छोरा घर फर्किंदा निलडाम भएर फर्किएको उनले बताइन् । ९ दिन बितिसक्दा पनि अझै प्रअको कुटाईका कारण विद्यालय जान नसकेको उनले बताइन् । ‘राति सपनामा समेत झस्कन्छ, सामान्य स्थितिमा फर्किएको छैन,’ मञ्जुले भनिन्, ‘मदिरा खाएर आएर भाटैभाटाले प्रअले कुटेछन्, ४ दिन जिल्ला अस्पताल खाँदबारीमा उपचारका लागि राख्नु पर्‍यो ।’ चिकित्सकले सिटि स्क्यान गर्नु पर्छ भनेको उनले बताईन् ।

‘प्रहरी र प्रशासन अनि जिल्ला शिक्षा कार्यालयमा दिएको उजुरीले काम गरेन, सबै पक्षबाट प्रअको संरक्षण भयो’, उनले भनिन्, ‘न्याय पाएका छैनांै, १५ हजारको प्रलोभन देखाएर मिलाप पत्र गरौं भन्न थालेका छन् ।’ उनले जिल्ला शिक्षा र एकल महिला समाजमा समेत उजुरी दिएकी छन् । जिल्ला बालक्लब समन्वय समितिका अध्यक्ष खेवाहाङ मेवाहाङका अनुसार बाल हिंसामा संलग्न शिक्षकलाई कारबाही गर्नुपर्छ । उनले बाल अधिकारको संरक्षणका लागि पनि प्रअ कुमाललाई कानुनी दायरामा ल्याएर कारबाही गरिनु पर्ने बताएका छन ।