sadakइलाम/इलामका उत्तर पूर्वी गाविसको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको नयाँबजार जोड्ने पक्की सडक निर्माण शुरु भएको छ । फिक्कलबाट नयाँबजारसम्मको सडकलाई स्तरोन्नति गर्ने कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

उन्नति समावेशी परियोजनाअन्तर्गत १३ करोड ६६ लाख रुपैयाँ लागतमा हिउँद–बर्खा नै मोटर चल्न सक्ने गरी सडक स्तरोन्नतिको कार्य शुरु भएको हो ।फिक्कलको बरबोटेबाट १९ किलोमिटर पक्की सडक निर्माण भएपछि त्यस क्षेत्रका जोगमाई, गोर्खे, नयाँबजार, सोयाङ, प्याङ, नामसालिङ र जमुनासम्मका बासिन्दालाई स्थानीय कृषि उपज बिक्री गर्नसँगै उपभोग्य सामग्री खरिद र आउजाउमा सहज हुने भएको छ ।

सडक स्तरोन्नतिको उद्घाटन गर्दै इलामका सभासद् केशव थापाले सडकलाई दीर्घकालसम्म सञ्चालन हुने बनाउन नियमित अनुगमन गर्न स्थानीयवासीलाई सुझाव दिए । पन्ध्र महिनामा काम सम्पन्न हुने यस सडकको चौडाइ नालीसहित ६ दशमलव २५ मिटरको रहने उक्त सडक नागार्जुन कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको हो ।नयाँबजारलाई नै सदरमुकामसँग जोड्न २१ किलोमिटर लामो अर्को सडक पनि निर्माणाधीन छ ।

माईखोलासम्म निर्माण सकिएको सडकको सोयाङखण्डमा काम भइरहेको छ ।यस्तै माईखोलामा पुल निर्माण कार्य पनि थालिएको छ । तपस्वी बालागुरुले २०११ सालमा बस्ती बसाएको नयाँबजारमा उनकै नेतृत्वमा २०१२ साल चैतमा भारतको मानेभञ्ज्याङबाट मोटर ल्याइएको भए पनि त्यसयता यहाँका बासिन्दाले सडकको दूरावस्था सहँदै आएका थिए ।

अलैँची, अदुवा, आलु, सागसब्जीलगायत विभिन्न कृषि बालीको व्यावसायिक खेती हुने यस क्षेत्रमा सडक यातयातको भरपर्दो व्यवस्था नहुँदा बजारसम्म पु¥याउन कठिन थियो । गाविस अध्यक्ष गोकुल सञ्जेलले राजनीतिक पूर्वाग्रह नराखी विकासको काममा अघि बढ्नु पर्ने धारणा राखेका थिए ।