इटहरी/ पूर्वकै पर्यटकीय क्षेत्र ताल तलैया नजिक रहेको पुराण चोकमा अस्थायी प्रहरी चौकी निर्माण हुने भएको छ । सुनसरी क्षेत्र नम्बर २ का सांसद् रेवतीरमण भण्डारीले शनिबार भवन शिलान्यास गरे । ४० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्थायी प्रहरी चौकीको पहिलो चरणमा १५ लाख रुपैयाँको काम हुने चौकी व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण विष्टले जनाए ।
स्थानीय खतिवडा परिवारले स्वर्गीय बाबु हरिचरण खतिवडाको स्मृतिमा प्रहरी चौकीका लागि केही समयअघि डेढ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । सो जग्गाको मूल्य ३० लाख रुपैयाँ पर्ने समितिका सचिव तुलाराम दङ्गालले जानकारी दिए । स्वर्गीय हरिचरणका दुई श्रीमती मनमाया र रणमाया तथा छोराहरु चन्द्रप्रसाद, विन्दाप्रसाद, हरिप्रसाद, बालकृष्ण, चिन्तामणि र सरोजले जग्गा प्रदान गरेका थिए । सो जग्गा इलाका प्रहरी कार्यालयको स्वामित्वमा आइसकेको अध्यक्ष विष्टले जनाए ।
भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १० लाख रुपैयाँ, इटहरी उपमहानगरपालिका तथा स्थानीयबाट रकम सङ्कलन गरी शुरुमा १५ लाखको काम गरिने बताइएको छ । भवन शिलान्यास कार्यक्रममा सांसद् भण्डारीसहित इटहरी इलाका प्रहरी कार्यालयका डीएसपी नरेश सुवेदीले शान्ति सुरक्षाको दृष्टिकोणले पनि तालतलैया क्षेत्रमा प्रहरी चौकी आवश्यक भएको र व्यवस्थापनमा लागिपर्ने बताए । स्थानीयले भने चौकी निर्माणमा सहयोग गर्न सरकारी निकाय तथा प्रशासनसँग आग्रह गरे ।
कार्यक्रममा तालतलैया विकास समितिका अध्यक्ष वीरबहादुर लिम्बू, सुनसरी जिल्ला विकास समितिका प्रतिनिधि शिवबहादुर निरौला, इटहरी उपमहानगरपालिकाका ३ नम्बर वार्ड सचिव अर्जुन सुवेदी, बलराम पुलामी, श्यामकुमार थापालगायत सहभागी थिए ।