apaharanधरान/ धरानमा नयाँ शैलीको अपराध मौलाएको छ । शुक्रबार तीनबजेतिर एक कलेज पढ्ने युवतिलाई फिल्मीशैलीमा अपहरण गरेर चारघण्टापछि छाडेको पाइएको छ । कलेजबाट फर्कदै गर्दा एक्कासी दुईजना युवाहरुले मुखमा अचेत हुने औषधि प्रयोग गरेर करिव चारघण्टापछि अलपत्र अवस्थामा विष्णुपादुकाको डाँडामा लगेर छाडिएको अवस्थामा फेला परेको थियो ।

१८ वर्षीय ती युवतिलाई अपहरण गर्नु पर्ने कारण भने हालसम्म खुल्न सकेको छैन् । अपहरणकारीहरु फरार छन् । अपहरणमा परेकी युवतिले एकजनाको अनुहार मात्रै अपहरण गर्ने समयमा देखेको बताइन् । ‘मुख छोप्न खोज्दा टाउँको यताउता हल्लाउँदा फेस हेर्न पाएको थिएँ ।’ उनले भनिन्, ‘त्यसपछि के भयो मलाई थाहा छैन् ।’ धरान–९ पुतलीलाइनको माथिल्लो बाटोबाट अपहरण परेको उनले बताइन् । अपहरणकारीहरु मोटरसाइकलमा थिए कि कारमा भन्ने बारे युवति अनभिज्ञ छिन् । ‘सञ्चो पनि थिएन् । ३ः१० बजे कलेजबाट घर हिडेको थिएँ, कानमा एयरफोन लगाएकाले को कताबाट केमा आए कतिजना थिएँ भन्नेसम्म थाहा छैन् ।’ उनले थपिन् । उनलाई गाउँलेको सहयोगमा करिव साढे ९ बजेतिर प्रहरीले उद्दार गरेको थियो ।

उद्दारमा कलेजका सञ्चालकहरुसमेत उपस्थित थिए । अपहरणकारीहरुले उनलाई विष्णुपादुँकाको भीरमा लगेर छाडेको कलेजका सञ्चालकले बताए । ‘फोनमा गफ गर्दा तलतिर बत्ति बलेको देख्छु । भीर जस्तोमा छु । कहाँ छु भन्न सक्दिन् भनेर भनिन् ।’ ती युवतिको भनाई उदृत गर्दै ती सञ्चालकले भने । त्यो विषयमा तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरीसहितको टोली उद्दारमा खटिएको थियो । तर, कुन ठाउँमा छ, कहाँ छ भन्नेसमेत थाहा नभएपछि उद्दारको लागिसमेत तत्काल समस्या परेको ती सञ्चालकले बताए । प्रहरीले युवतिलाई फोनमा गफ गर्दा जतिसक्दो तल आउन र कराउनको लागि जानकारी गराएका थिए । सोही अनुरुप युवति डाँडाबाट खोलासम्म झरेर आइपुगेकी थिइन् । युवतिलाई तत्काल उद्दार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो । उपचारपछि शनिबार बिहान डिस्चार्ज गरिएको छ । ती युवती अहिले सकुसल छिन् । अपहरणकारीहरुले उनलाई सकुसल अवस्थामा छाडेको पाइएको अस्पताल रिपोर्टले देखाएको सञ्चालकले बताए ।

यस बारेमा पीडित परिवारले प्रहरीलाई जानकारी गराइसकेको छ । घटनाको जानकारी आएलगत्तै प्रहरी उद्दारको लागि खटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । वडा प्रहरी कार्यालय धरानको टोली उद्दारमा खटिएको थियो । पीडितले दिएको हुलिया अनुसारको मान्छेको खोजी कार्य जारी रहेको डिएसपी खतिवडाले बताए । तर, घटना के कारणले घटाइएको हो भन्ने कारण तत्काल नखुलेकाले हाल अनुसन्धानको दायरामै रहेको उनले बताए ।