तरहरा/सरकारी बेवास्ताको कारण जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र धराशायी बन्दै गएको छ । लोकप्रिय आयुर्वेदिक तेल (सञ्चो) तथा बहुमूल्य कच्चा तेल उत्पादन गर्दैआएको जडीबुटी केन्द्र आवश्यक वैज्ञानिक प्रविधि र खेती गर्ने ठाउँ अभावका कारण धराशायी बन्दै गएको हो । वर्षेनी तेल उत्पादन तथा खोटो सङ्कलनमा ह्रास आइरहेको छ ।
नेपालमा मात्र पाइने एक प्रकारको जडीबुटीबाट तयार पारिने ‘सञ्चो’ उत्पादन केन्द्र सरकारी बेवास्ताकै कारण धराशायी भइरहेको केन्द्रले जनाएको छ । रुँघाखोकी, टाउको दुखेको र शरीर दुख्दा प्रयोग गरिने तेल उत्पादनमा कमी आएको हो । प्रशस्त ठाउँको अभावका साथै आवश्यक जडीबुटी उत्पादन गर्ने मेसिन अभावका कारण पछिल्लो समयमा कच्चा तेल उत्पादनमा कमी आएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र तरहराले जनाएको छ ।
पूर्वी तराईमा मुख्य जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा उत्पादन हुँदै आएको छ ।नेपालबाट अमला, कुरिलो, जटामसी, पाँचऔंले, चिराइतो, रुद्राक्ष, लेमनग्रास, रिठ्ठो, गुजरगानो, सुगन्ध कोकिल, सर्पगन्धा, सतुवा, सुनाखरी लगायतका १ सय ६० प्रजातिका जडीबुटीको बिक्री–वितरण हुने गरेको जडीबुटी केन्द्रको तथ्याङ्कले देखाउँछ । तर, तरहरामा रहेको केन्द्रले भने सरकारी बेवास्ताकै कारण जडीबुटी तेल उत्पादनमा कमी आइरहेको जडीबुटी उत्पादन केन्द्रका प्रमुख बखतबहादुर राउतले बताए । उनले भने, ‘कार्यालयहरु सबै जीर्ण छन् ।
सवारी साधन छैन, प्रत्येक वर्ष हामी सवारी साधन तथा आवश्यक प्रविधि माग गर्छौं तर हाम्रो मागको जहिल्यै बेवास्ता हुन्छ ।’तरहरामा २५ सय केजी सिटोनेला तेल, २ हजार केजी मसलाको तेल, एक सय ५० केजी तामारोजाको तेल, लेमन ग्रास तेल ५० केजी, मेन्था तेल ३ सय केजी, बावरी तेल २ सय केजी, क्यामोमायल तेल १ सय १० उत्पादन गर्ने वार्षिक कार्यक्रम थियो । ‘यो हामीले कुनै हालमा पूरा गर्ने अवस्था छैन’, उनले भने । जडीबुटी अभावकै कारण उत्पादनमा कमी भएको उनको भनाइ छ ।
यहाँ उत्पादन भएको तेल महङ्गो छ । क्यामोमाइल तेल एक केजीको ४५ हजार मूल्यसम्ममा बिक्री हुने उनले बताए । केन्द्रले बेलबारीमा १ सय ५ बिघा लिजमा वन विभागसँग भाडामा लिएर खेती गर्दैआएको छ भने तरहरामा वनस्पति विभागको ३७ बिघा जमिनमा जडीबुटी उत्पादन हुँदै आएको जनाएको छ ।