संखुवासभा/ नेपालकै बहुचर्चित र ठुलो जलविद्युत आयोजना अरुण तेश्रो आयोजनाबाट प्रभावित स्थानीयहरुलाई दिइने मुआब्जा वितरणको काम ९० प्रतिशत सकिएको छ । हालसम्म ३ सय ५३ कित्ताको मुआब्जा वितरण गरि सकिएको परामर्शदाता मधुकर खड्काले बताए । जिल्ला प्रशासन कार्यालय संखुवासभा मार्फत् मुआब्जा वितरण गरिएको हो ।
मुआब्जा वितरणका लागि प्रभावितहरुको सुविधालाई मध्यनजर गर्दै बैङ्क खाता खोल्ने व्यवस्था समेत गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरुले गाविस कार्यालय र मालपोत कार्यालयबाट काम सकिएपछि जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरण गर्ने गर्दछ । मुआब्जा वितरणको व्यवस्थापनको काममा भारतीय सतलज कम्पनीले समेत सघाइरहेको छ भने रकम लिन सदरमुकाम खाँदबारी आउनजान नुमको फ्याक्सिदासम्म र यता दिदिङ्गसम्म स्थानीयहरुलाई गाडीको व्यवस्था समेत गरिएको छ । प्रत्येक घरका श्रीमान् श्रीमती दुवै आउनु पर्ने भएकाले दैनिक एक हजार रुपैया खान तथा बस्नका लागि रकम दिइने गरेको सतलज कम्पनीले जनाएको छ ।
आयोजनाबाट प्रभावित गाविसहरु नुम, पाथीभरा, याफु र दिदिङका प्रभावित परिवारले उक्त रकम पाउने छन् । आयोजनाले चार गाविसका दुई सय तीन परिवारलाई एक अर्व ३० करोड रुपंैया मुआब्जा वितरण गरिने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । मुआब्जा वितरण सुरु गरिएको ३५ दिनभित्र सम्पूर्ण प्रभावित तथा विस्थापित परिवारले मुआब्जा लिइसक्नुपर्ने भए पनि सो समयमा सबै नआएका कारण पुनः गत सोमबार १५ दिने सूचना सार्वजनिक जारी गरेको छ । १५ दिन भित्र पनि मुआब्जा बुझ्न नआएमा पुन ७ दिने सूचना जारी गरीने परामर्शदाता खड्काले बताए ।
अन्तिम म्याद सम्ममा पनि मुआब्जा बुझ्न नआए जिल्ला प्रशासनको धरौटी खातामा बाँकी मुआब्जा रकम जम्मा गरिने खड्काले बताए । ५ बर्ष सम्म पनि रकम बुझ्न नआएमा सो रकम राज्यको हुने छ । समय अवधि भित्र नै मुआब्जा रकम लिन नआउनेहरु प्राय वैैदेशीक रोजगारीमा रहेका छन् । केहीको कागजी प्रक्रिया पुरा नभएका कारण मुआब्जा लिन ढिलाई भएको हो । उक्त आयोजनामा कुल १ सय अर्ब रुपँैया लगानी रहने जनाएको छ भने ८२ दशमलब १३ हेक्टर निजी र ९८ दशमलब १९ हेक्टर सार्वजजिक जग्गा अधिकरण हुनेछ । अरुण तेश्रो आयोजना सन् २०२० सम्म सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ भने ९ सय मेगावाट विद्युत उत्पादन हुनेछ ।