mahila-himsaदुहबी/महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनसरीको दुहबीभलुवा–४ मा एक महिला आफ्नै पतिको कुटाइ खाएर थला परेकी छिन् । यहाँस्थित नयाँ बस्तीका ५७ वर्षीय मिनबहादुर नेपाल मङ्गलबार बिहान पत्नी ५० वर्षीया सावित्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेर फरार भएका छन् ।

घाइते सावित्राको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको दुहबी इलाका प्रहरी कार्यालयले जनाएको छ ।सावित्रालाई राति नै बेहोस हुनेगरी कुटेपछि ढोकामा बाहिरबाट ताल्चा लगाएर मिनबहादुर फरार भएका हुन् ।

पूर्व अहेव समेत रहेका नेपालका दुई श्रीमतीमध्ये सावित्रा कान्छी हुन् भने जेठी श्रीमती उदयपुरको बेल्टार माडीवासमा बस्दै आएकी छिन् ।मङ्गलबार बिहानीपख घरमा ताल्चा लगाएको देखेपछि नेपालका छोरा उज्ज्वलले छिमेकी गुहारेर प्रहरीलाई खबर गरेको र प्रहरीले ताल्चा तोड्दा सावित्रालाई मरणासन्न अवस्थामा भेटेपछि उपचारको लागि अस्पताल पठाएको दुहबीका इन्स्पेक्टर शिवकुमार पोखरेलले बताए । कुटाइबाट सावित्राको अनुहार, आँखा लगायतका ठाउँमा गम्भीर चोट लागेको छ ।

घरायसी विवादको कारण झगडा भएको हुनसक्ने प्रहरीको अनुमान छ । फरार मिनबहादुरको खोजी भइरहे पनि अहिलेसम्म पक्राउ गर्न नसकेको इन्स्पेक्टर पोखरेलले बताए ।महिला हिंसा विरुद्धको अभियान चलिरहेकै बेला महिलामाथि चरम यातनाको घटना सार्वजनिक भएपनि अधिकारकर्मीहरु घटनास्थलसम्म पुग्न सकेका छैनन् । प्रहरीले पनि घटनाको दोषीलाई पक्राउ गर्न ढिलाइ गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।