धरानमा फेरि छुरी प्रहार
- मंसिर १४, २०७३
- ब्लाष्ट खबर
धरान/धरान–८ को होण्डा शोरुममा कार्यरत एक युवामाथि छुरी प्रहार भएको छ । सोमबार राति करिव साढे ७ बजेतिर शो रुममा कार्यरत मोरङ विराटनगरका सागर सरदारमाथि छुरा प्रहार भएको हो ।
छुरी प्रहार गर्ने धरान–१६ का सागर लिम्बू रहेको बताइएको छ । गत शुक्रबार शो रुममा स्कुटी बनाउन ल्याएको विषयमा ग्राहक ग्राहकबीच झगडा हुने क्रममा शोरुममा कार्यरत युवाहरुले छुट्याउने प्रयास गरेका थिए ।
त्यही विषयलाई लिएर लिम्बूले इगो साधेको हुन सक्ने शोरुम सञ्चालक देव कुँवरले बताए । उनका अनुसार सरदारलाई छुरी हान्ने क्रममा छल्दा देब्रे आँखाको भागमा हल्का काटेको छ । लिम्बू फरार छन् । शो रुमले निवेदन दिने तयारी गरेको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडालेसमेत मौखिक रुपमा जानकारी लिइसकेका छन् । डिएसपी खतिवडाले यस विषयमा सम्बन्धित व्यक्तिलाई फोन गरेर कार्यालयमा आउनको लागि जानकारी गराएको बताए ।