
इटहरी / पूर्व उपप्रधान मन्त्री एवम् मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेशी मोर्चा र आफ्नो सहमति विना सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराए कुनै हालतमा पास नहुने बताएका छन् । उनले एमालेसँग पनि सहकार्य गरेर मात्रै संसोधन प्रस्ताव दर्ता गर्नु पर्नेमा जोड दिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा आइतबार इटहरीमा भएको कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष गच्छदारले भने ‘हाम्रो पार्टी र मधेशी मोर्चाको सहमति विना आएको संसोधन प्रस्ताव पास हुँदैन, यो सरकारले छलफल विना संविधान संसोधन प्रस्ताव दर्ता नगराए पनि हुन्छ । गच्छदारले प्रस्तावमा छलफल आवश्यक भएको भनिरहँदा आइतबार नै बसेको मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमला दाहालले सहमतिको प्रयास जारी रहेको भन्दै प्रस्ताव दर्ताको प्रकृयामा नलगेका हुन् । आफ्नो पार्टीले मुलुकले गर्ने निर्णयमा पोजिसन लिने वेला अएको भन्दै अध्यक्ष गच्छदारले अधिकार र सिमाङ्कनको विषयमा मधेशी मोर्चा समेत स्पष्ट नभएको बताए । राणाकालमा राणाहरुले, त्यस पछि राजाले गलत निर्णय गर्दा सत्ताबाटै हट्नु परेको प्रसंङ्ग जोड्दै उनले अहिलेको अवस्थामा दलका नेतारुले सचेत हुन जरुरी रहेको बताए । राजनीतिक वातावरण सकारात्मक बन्न नसक्दा नेपालमा श्रोत र साधान भए पनि त्यसको उपयोग गर्न नसकिएको उनको भनाई थियो । ‘८४ हजार मेघावाट विद्युत निकाल्न सकिने नेपालमा एक हजार मेघावाट पनि निकाल्न सकिएको छैन’ नेता गच्छदारले भने ‘यहाँका हिमालमा पर्यटक आकर्षण गर्न सके पनि मुलुकले आर्थिक क्रान्ति गर्ने थियो ।’ नेपालका श्रोत र साधानलाई मार्केटिङ गर्नका लागि अहिलेसम्म राजनीतिक वातावरण नबनेको भन्दै उनले अवको राजनीतिले ती वातावरण बनाउनुु पर्नेमा जोड दिए । उनले झापा मोरङ सुनसरी र कैलालीमा निकालिएको विवाद यहीका जनतालाई छिनोफानो गर्न दिनु पर्नेमा समेत जोड दिए । संविधान जारी हुँदा अघि १६ बँदे सहमति भएको ठूला राजनीतिक दलका नेताले उल्लङ््घन गरेको र त्यस वेला सहमति भएको ८ प्रदेशको खाकालाई मिच्दा नेपालमा ठूलो जन धनको क्षति भएको पनि उनको भनाई थियो । आफू पहिल्यै देखि ८ प्रदेशको पक्षमा रहेको भए पनि ठूला दलका नेताहरुले सो प्रस्तावलाई अस्वीकार गर्दा मुलुकमा समस्या उत्पन्न भएको पनि उनले बताए । यस पछि अध्यक्ष गच्छदारले कार्यकर्ता माझ पार्टीको भावी रणनीतिका विषयमा बोलेका थिए । कार्यक्रममा स्थानीय तहको निर्वाचन तथा यसको कार्यान्वयन प्रक्रियाको लागि पार्टीको विधान सवन्धी पार्टीका सहमहामन्त्री चन्द्रेश्वर शर्मा खत्वेले जानकारी गराएका थिए । ्र शर्मा तथा स्थानीय तह निर्धारण आयोगको कार्ययोजनाको बारमा सुनिल रञ्जन सिंहले जानकारी गराएका थिए । इटहरी–१० स्थित शुभारम्भ पार्टी प्यालेसमा भएको प्रशिक्षण कार्यक्रममा उल्लेख्य मात्रामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।