अहिले राजधानी उपत्यकामा विद्युत् आपूर्तिमा लोडसेडिङ छैन । भएकै विद्युत्को सही व्यवस्थापन गर्दा लोडसेडिङलाई हटाउन सकिने यसबाट पुष्टि हुन्छ । विद्युत्को दुरुपयोग भएकै कारण अनावश्यक लोडसेडिङ भएको यसबाट पुनर्पुष्टि भएको छ । भएकै ऊर्जालाई व्यवस्थापन गर्दा अहिले उपत्यकावासी लोडसेडिङ मुक्त भएका छन् ।

यसबाट अर्को के पनि विश्वास गर्न सकिन्छ भने सबैतिर यसैगरी ऊर्जा व्यवस्थापन गर्ने हो भने देशभरि नै विद्युत् आपूर्तिमा भएको कटौतीलाई पूर्णतः समाप्त गर्न नसकिए पनि केही घटाउन भने अवश्यक सकिन्छ ।विद्युत् दुरुपयोगका घटनाहरु यसअघि पनि पटकपटक सार्वजनिक भएका हुन् । कतिपय सर्वसाधारण र उद्योगहरुले नै पनि विद्युत् चोरी गर्ने गरेका घटना पटकपटक सार्वजनिक भएकै हुन् । अझ विद्युत् प्राधिकरणकै कर्मचारीहरुले केही उद्योगहरुलाई विद्युत् बेच्ने गरेको विषय पनि सञ्चारमाध्यममा आउने गरेका छन् ।

सर्वसाधारणलाई अन्धकारमा राखेर कर्मचारीहरुले उद्योगलाई विद्युत् बिक्री गर्दा पनि सरकार वा सम्बन्धित पदाधिकारीहरु मूकदर्शक बन्दा यो बेथिति अभैm हट्न सकेको छैन । यसकै कारणले गर्दा सर्वसाधारण भने अन्धकारमा बस्न बाध्य छन् । विद्युत् चोरीका घटना धरानमा पनि भर्खरै सार्वजनिक भएको छ । प्राधिकरणको धरान शाखाले पनि एक हप्ताभित्र धरानका ११ वटा लघुउद्योग र दुईजना सर्वसाधारणलाई विद्युत् चोरी तथा अवैध प्रयोग गर्दागर्दै फेला पारेको छ । शाखाले उनीहरुलाई जरिवाना पनि तिराएको छ । यस घटनाले धरानका लघुउद्योगहरुले पनि विद्युत् चोरी गर्ने गरेको सार्वजनिक भएको छ । त्यसो त कतिपय ग्रामीण क्षेत्रमा सर्वसाधारणले मिटरविना हुकिङ गरेर नै विद्युत् प्रयोग गर्ने गरेका छन् ।

यसरी हुने विद्युत् चुहावटले पनि विद्युत् आपूर्तिमा ठूलो प्रभाव पारेको छ । भएको ऊर्जालाई सदुपयोग गर्न नसक्दा सर्वसाधारणले अधिकांश समय विद्युत् अभावमै बिताउनु परेको छ । विद्युत् चुहावट र चोरीलाई रोक्न यसैगरी देशैभरि अभियान सञ्चालन गर्ने हो भने केही हदसम्म लोडसेडिङ घटाउन सकिने प्रष्ट भएको छ । त्यसकारण सर्वसाधारणलाई लोडसेडिङ मुक्त बनाउन प्राधिकरणका सबै शाखाहरु सक्रिय हुनु आवश्यक छ । यसका साथै राज्यले लघुजलविद्युत् योजनाहरुमा विशेष चासो देखाउनु आवश्यक छ । ठूला जलविद्युत् आयोजना निर्माणमा लामो समय लाग्ने भएकाले तत्कालीन आवश्यकता पूरा गर्न साना जलविद्युत् आयोजनामै सक्रियता देखाउनु फलदायी हुने देखिन्छ ।