भद्रपुर/पछिल्लो समय झापामा तस्करी गतिविधि नियन्त्रण हुन थालेसँगै झापाका प्रहरी प्रमुखलाई हटाउन तस्करले चलखेल शुरु गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति गर्नु प्रहरी, प्रशासन पहिलो जिम्मेवारी हो तर तस्करी गर्न नपाएको भन्दै तस्करहरुले चलखेल गर्न थालेका हुन् । झापा जिल्ला प्रहरी कार्यालयमा पाँच महिनाअघि काजमा आएका एसपी शैलेस थापा क्षेत्रीलाई काज फिर्ता गराउन तस्कर समूहसहित केही उद्योगी, व्यापारी, राजनैतिक दल दौडधूपमा लागिपरेका छन् ।
एसपी थापा झापामा हाजिर भएपछि सञ्चारकर्मीसँग गरेको परिचयात्मक कार्यक्रममा भनेका थिए, ‘म काम गर्न झापामा आएको हुँ र कानूनलाई हातमा लिएर कहिल्यै नराम्रो काम गर्ने छैन ।’ गैरकानूनी रुपमा पैसा कमाउन आपूmले जागिर नखाएको उनको भनाइ थियो । सरकारले दिएको तलब र रासनमै देशको सेवा गर्ने प्रतिबद्धता थापाले जनाएका थिए । एसपी थापाको निष्पक्ष र निष्ठापूर्ण काम झापामा गैरकानूनी रुपमा काम गर्ने व्यक्ति र व्यापारीलाई सह्य नभएपछि उनीहरु एसपीलाई हटाउन लागिपरेका छन् । एसपीको काज फिर्ता गराउन ती व्यक्ति र व्यापारिक समूह अहिले केन्द्रसम्म धाइरहेका छन् ।
प्रहरी प्रधान कार्यालयले यही मङ्सिरभित्र झापामा नयाँ एसपी दरबन्दी तोकेर पठाउने बुझिएको छ । काजमा बसेका एसपी थापालाई सो दरबन्दीमा नराख्न ती व्यक्ति, व्यापारी र राजनीतिक दलले आईजीपीसमेतलाई दवाब दिन चलखेल शुरु गरेकोे प्रहरी निकट स्रोतको दावी छ । ठाकुरप्रसाद ज्ञवाली एसएसपी भएर झापाबाट गएपछि उनको स्थानमा आईजीपीले एसपी थापालाई पठाएका हुन् । थापा आएपछि झापामा ठूला अपराधका घटना भएनन् । बरु आपराधिक समूहमा आबद्ध व्यक्तिलाई पक्राउ गरेर अदालतसमक्ष पु¥याउन उनी पछि हटेनन् । थापाले अहिलेसम्म मोटरसाइकल चोरीमा संलग्न र नक्कली लाइसेन्स बनाउने गिरोहलाई पक्राउ गर्नुका साथै सीमा क्षेत्रबाट हुने सुपारी, सुर्ती, फोरेनगुड्स, लत्ताकपडा चोरी तस्करी नियन्त्रण गरे ।
यसका साथै बुधबारेमा हत्या गरिएकी बालिकाका हत्यारालाई दिल्लीबाट पक्राउ र फरार अपराधी पक्राउजस्ता काम गरिरहेका छन् । एसपीलाई खुशी बनाएर आप्mनो काम गराउन झापाका केही उद्योगी तथा व्यापारी मिठाई, चिया रङ, मूल्यवान रक्सी, नगदलगायत उपहार लिएर पुगेका थिए तर एसपीसापले उपहार फिर्ता पठाएपछि उनीहरुबीच खैलाबैला मच्चिएको एक प्रहरीले बताए । एसपी थापाले कसैसँग नजराना नलिएकै कारण झापाका इलाका, सीमा, चौकी र वडाका प्रहरी इन्चार्जहरु पनि यस्ता कार्य गर्न एकपटक सोच्न बाध्य भएका छन् ।