विजयपुर/नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहले सुनसरीका विभिन्न गाउँहरुमा ठगी गरेको सूचना पाएपछि प्रहरी नक्कली नोट खोज्दै गाउँमा छिरेको छ । गत मङ्गलबार सुनसरीको भरौलका स्थानीयले नक्कली नोटको कारोबार गर्ने गिरोहका एक सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि गिरोहले विभिन्न ठाउँमा नक्कली नोट दिएर सर्वसाधारणलाई ठगेको सुइँको पाएर प्रहरीले नक्कली नोट खोज्न गाउँगाउँमा परिचालन भएको हो ।
गत मङ्गलबार गाउँलेको नियन्त्रणबाट भागेका दुईजना भारतीयले फालेको एक हजारको नक्कली नोट बुधबार स्थानीयले खेतमा भेटेका थिए । गिरोहका सदस्यहरुले वराहक्षेत्रमा लागेको हरिबोधनी एकादशी (कात्तिके मेला) मा नक्कली नोटबाट निकै ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘हामीले यस विषयमा हरेक इलाका, चौकी र बिटहरुमा कडाइका साथ अनुसन्धान गर्न निर्देशन दिएका छौँ’, सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले भने, ‘यदि कसैलाई आपूmसँग भएको नोट शंकास्पद लागेमा वा कोही व्यक्तिको शंकास्पद व्यवहार लागेमा प्रहरीलाई तत्काल जानकारी दिन अनुरोध पनि गर्दछु ।’ उनले कारोबारीहरुले कहाँकहाँ नोट साट्न सक्छन् भन्ने अध्ययन गरेर सूक्ष्म अनुसन्धान गरिरहेको जनाए ।
मातहतका प्रहरीलाई नक्कली नोटहरुबारे विशेष निगरानी राख्न र सर्वसाधारणसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको पोखरेलले बताए । प्रहरीले गत मङ्गलबार भरौलबाट स्थानीयको सहयोगमा नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य सुनसरीको हरिनगरा–३ का २२ वर्षीय पशुपति महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । गिरोहका सदस्य दुई भारतीय नागरिकहरु फरार भएका थिए । उनीहरुको खोजी कार्य पनि भइरहेको प्रहरीले जनाएको छ । गिरोहले वराहक्षेत्र मेलाबाट नेपाल तथा भारतबाट आएका तीर्थालुहरुलाई ठगी गरेको सूचना प्रहरीलाई पुगेको छ । महेन्द्रनगर चक्रघट्टीको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले वराहक्षेत्र, चतरा, नहडा, प्रकाशपुर लगायतका क्षेत्रहरुमा प्रहरी आपैmँ उपस्थित भएर व्यापारी, सर्वसाधारणसँग समन्वय गरी अनुसन्धान गर्न निर्देशन दिइएको जानकारी दिए ।
‘नक्कली नोटहरुका सम्बन्धमा हामीले थप सूचनाहरु पनि पाएका छौँ, अनुसन्धान भइरहेको छ ।’ पौडेलले भने । गिरोहले सुनसरीबाहेक सिरहा, सप्तरी, उदयपुर, धनकुटालगायत विभिन्न जिल्लाका भित्री शहर तथा गाउँहरुमा पनि विशेष निगरानी राख्न निर्देशन भइसकेको सुनसरीका एसपी पोखरेलले जनाए । प्रहरी स्रोतका अनुसार नक्कली नोटको कारोबार गर्ने गिरोहका मुख्य नाइके भारतको चम्पारन जिल्लाको घोडासाहन, नुनौरा घर भएका अमित साह हुन् ।
साहसँग जिल्ला प्रशासन कार्यालयबाट दिइएको नक्कली नागरिकतासमेत भएको स्रोतको भनाइ छ । पक्राउ परेका महतोसँग आएका अन्य दुईजना भारतीय नागरिक भएको भरौलका स्थानीय दिवान राईले जनाए । नक्कली नोट खोजी गर्न आपूmहरुपनि प्रहरीको साथमा लागिपरेको उनले बताए ।