nagarikataकीर्ते नेपाली नागरिकता बनाएको अभियोगमा पक्राउ परेका दुईजनालाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ । उनीहरु बङ्लादेशी नागरिक भएको प्रहरीले जनाएको छ । दुवैले गलत विवरणका आधारमा सुनसरी जिल्लाबाटै नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । उनीहरु नेपालमा हतियार तथा लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यो सामान्य विषय होइन । गलत विवरणका आधारमा प्रशासनिक संयन्त्रलाई नै झुक्याएर नागरिकताको प्रमाणपत्र प्राप्त गर्नु गम्भीर अपराध हो । यस्तो नागरिकता बोकेर उनीहरु अवैध हतियार र लागूऔषधको कारोबारमा संलग्न भएको विषय अझ गम्भीर हो । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको छविलाई जोखिममा पार्ने सम्भावना त छँदैछ, यो राष्ट्रियतामाथिको आक्रमण पनि हो । त्यसो त नक्कली विवरणका आधारमा सुनसरीबाट नागरिकता वितरण भएको यो पहिलो घटना होइन । यसअघि पनि यस्ता नागरिकताधारी थुप्रै विदेशी पक्राउ परिसकेका छन् । देशका अन्य भागबाट पनि बेलाबेलामा यस्ता समाचार आउने गरेका छन् । यस्ता नागरिकताधारी अधिकांशतः आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको अहिलेसम्मका घटनाले देखाएका छन् । नेपाली नागरिक र कर्मचारीको सहयोगविना विदेशीले वंशजका आधारमा नेपाली नागरिकता पाउन सक्दैनन् । बाबु बन्ने नेपाली नागरिक र तिनलाई नेपाली प्रमाणित गर्दै नागरिकताका लागि सिफारिस गर्ने स्थानीय निकायका कर्मचारी (वा जनप्रतिनिधि) नेपाली नै हुन् । यसबाहेक कतिपय अवस्थामा प्रशासनका कर्मचारी पनि यसमा संलग्न हुने गरेका हुन्छन् । उनीहरुकै कारण विदेशीले पनि सहज रुपमा नेपाली नागरिकता पाइरहेका छन् । बरु कतिपय वास्तविक नागरिकले कागजातका अभावमा नागरिकता पाउन सकेका छैनन् । वास्तविक नागरिकले नागरिकता प्राप्त गर्न कयौँपटक प्रशासन धाउनुपर्ने अवस्था कायमै छ । केही हजार वा लाख रुपैयाँका लागि राष्ट्रलाई धोका दिने यस्ता व्यक्तिहरुमाथि कडा कारवाही हुनु आवश्यक छ । यस्ता व्यक्तिमाथि कडा कारवाही हुन नसक्दा नै उनीहरुको मनोबल बढ्ने गरेको छ । राष्ट्रियताको बिक्री पक्कै पनि सामान्य अपराध होइन । यस्ताले सहजै उन्मुक्ति पाउँदा दण्डहीनता बढेको छ भने राष्ट्रियता नै जोखिममा पर्ने खतरा पनि बढ्दो छ । यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ ।