हिन्दू धर्मावलम्बीका चार धाममध्ये एक धाम सुनसरीको चतरास्थित वराहक्षेत्र पर्दछ । यहाँ छिमेकी मुलुकबाट तथा स्वदेशी तीर्थयात्रु प्रशस्त आउने गर्छन् तर सो क्षेत्रमा पुग्ने सडकको हालत भने दयनीय छ । सडक मर्मत–सम्भार नभएकै कारण वर्षेनी लाग्ने धार्मिक पर्यटकीय मेलामा भक्तजनहरुको सङ्ख्यामा पनि कमी आउन थालेको छ । देशी तथा विदेशी धार्मिक पर्यटकहरु तान्ने सम्भावना भएको पवित्र तीर्थस्थलको व्यवस्थापन तथा त्यहाँसम्म पुग्न सडक विस्तार गर्न राज्यले ध्यान नदिनु विडम्बना हो ।

पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, सडक विस्तार, जीर्ण भएका मठमन्दिरहरुको जीर्णोद्धारा गर्न राज्यले ध्यान नदिने तर पर्यटकीय क्षेत्र विकासको नारा मात्र फलाक्ने, धार्मिक क्षेत्र विकास समिति बनाएर राज्यको ढिकुटी रित्याउने काम मात्र गर्नुले पर्यटकीय क्षेत्रको विकास हुन्न सक्दैन ।वराहक्षेत्रको विकासका लागि सरकारले वराहक्षेत्र बृहत्तर विकास समिति बनाएको छ । उक्त समितिमार्पmत् करोडौँ लगानी पनि गरेको छ तर उक्त क्षेत्रमा धार्मिक पर्यटकहरु आकर्षित गर्ने कुनै योजना तथा कार्यक्रम नहुनु विडम्बना हो । नाराले मात्र विकास हुँदैन । विकासका लागि योजना तथा कार्यक्रम चाहिन्छ तर त्यस्तो कुनै कार्यक्रम यस क्षेत्रमा सञ्चालन हुन सकेको छैन् ।

धरानबाट २१ किलोमिटर पश्चिम–उत्तरमा पर्ने प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र पुरानो व्यापारिक केन्द्र चतराबाट सात किमिको दुरीमा पर्छ । हरिबोधनी एकादशी मेलाका रुपमा प्रसिद्ध कात्तिके मेला आगामी २५ गते शुरु हुँदैछ तर त्यहाँसम्म पुग्ने सडकको अवस्था भने बेहाल छ । असजिलो सडकका कारण एकपटक आएका व्यक्ति फेरि फर्केर आउने कल्पना गर्न सकिँदैन । वराहक्षेत्रको बृहत्तर विकास गर्ने हो भने पहिलो कुरा सजिलो र गुणस्तरीय सडक हो । सरोकारवाला निकायले यस क्षेत्रको सडक मर्मत तथा विस्तारका लागि ध्यान पु¥याउनुपर्छ ।