धरान/खाना पकाउने राइस कुकुरमा विद्युत सर्ट भई आगलागी हुुँदा धरान–२२ साउनेका रणबहादुर श्रेष्ठको काठेको दुई तले घर जलेर नष्ट हुँदा १५ लाख रुपैया बराबरको क्षति भएको छ । घासपातको लागि सबै परिवार नै घर बाहिर रहेको अवस्थामा आगलागी हुँदा काठको दुईतले घरसहित पछिल्तिर रहेको दुईतले ग्वालीसमेत जलेर पूर्ण नष्ट भएको छ । मानवीय क्षति नभए पनि १० थान कुखुरा जलेको छ । घरमा रहेको लत्ताकपडा, अन्नबाली पूर्ण रुपमा क्षति पुगेको अस्थायी प्रहरी चौकी देउरालीले जनाएके छ । टीनको छाना रहेको घरमा राखिएको तीनतोला सुनसमेत जलेको थियो भने उक्त सुन आगो नियन्त्रणमा लिएपछि फेला परेको बताइएको छ । स्थानीयबासी, इलाका प्रहरी, वडा प्रहरी र देउराली प्रहरी साथै धरान उपमहानगरको बारुण यन्त्रको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगो ८ बजेदेखि लाग्न सुरु भएको बताइएको छ । घरमा कोही नभएकाले पनि घटना लगत्तै जानकारी आउन नसकेको बताइन्छ । त्यो बेला श्रेष्ठको ७ जनाको परिवारको सदस्य सबै बाहिर रहेका थिए ।