पछिल्लो समय सुनसरीमा आपराधिक घटना बढेका छन् । धरान, इटहरीलगायतका स्थानमा दिनदहाडै छुरा प्रहार तथा गोलीकाण्ड हुँदासमेत जनताको सुरक्षाको लागि खटेको प्रहरी प्रशासन भने बेखबर बनेको छ । बिहीबार धरानमा छुरा प्रहारबाट एकको हत्या भयो । भाइटीकाको बिहान तरहरामा गोली चल्यो । सोही दिन इटहरीको इलाका प्रहरी कार्यालयअगाडि नै लुटपाट हँुदासमेत प्रहरीले सुइँको पाउन सकेन ।

चोरी, डकैती, लुटपाट र हत्याको शृङ्खला बढेर जाँदासम्म प्रहरी प्रशासनले यस्ता आपराधिक क्रियाकलाप रोक्न कुनै योजना नबनाउनु विडम्बना हो । चाडबाडका बेला प्रहरीले सुरक्षा संयन्त्र व्यापक रुपमा परिचालन गरेको भनेर प्रचार गर्छ तर सुरक्षा व्यवस्था भने कमजोर बन्ने गरेको छ । धरानको इलाका प्रहरी कार्यालयले नगरको सुरक्षा मजबुत बनाउन १२ स्थानमा प्रहरी बिट राखेको प्रचार गरे पनि दिनदहाडै हत्या हुँदा प्ररहीले थाहा नपाउनु विडम्बनाको विषय हो ।

जनताको सुरक्षाका नाममा स्थापना गरिएका प्रहरी बिट हाकिमसँग लाइन मिलाएर नजरना उठाउन परिचालन गरिएको भन्ने कुरा धरान र इटहरीमा भएका आपराधिक घटनाको बढोत्तरीले पुष्टि गरेको छ । इटहरीको इलाका प्रहरी कार्यालयले पनि नगरका विभिन्न स्थानमा प्रहरी बिट स्थापना गरेको छ तर ती बिटबाट जनताको जीउधनको सुरक्षा भएको व्यवहारमा पाइँदैन । बिटमा परिचालन गरिएका प्रहरी युनिटले कस्तो काम गरिरहेको छ, जनताको सुरक्षाका लागि के गरिरहेको छ ? अब अनुगमन गर्नुपर्छ । नगरमा हुने गरेका आपराधिक क्रियाकलाप रोक्न प्रहरीले कडा कदम चाल्नुपर्छ ।

अपराधीलाई पक्राउ गर्ने र राजनीतिक सोर्सफोर्स, आफन्त नातागोताको अनुरोधमा विनाकारवाही छाड्ने संस्कृतिले प्रहरी प्रशासन आपैmँ कमजोर बन्दै गएको छ । यस्ता विकृत रोक्न प्रहरी प्रशासन कठोर भएर लाग्नु वाञ्छनीय हुने छ । अभियुक्तहरुलाई विनाकारवाही पैसा असुलेर छाड्ने प्रवृत्तिले आपराधिक मनोवृत्ति झन् मौलाएको कुरालाई अब नागरिक समाज र प्रहरी प्रशासनले पनि गम्भीर रुपमा लिनुपर्दछ ।