alaichiइलाम/ चियापछिको अर्को मुख्य नगदेबालीको रूपमा रहेको अलैँचीले यहाँ बजार लिन थालेसँगै मूल्य भने निरन्तर ओरालो लाग्न थालेको छ ।खोल्सीको ‘कालो सुन’ उपमाले समेत चिनिएको यो नगदेबालीको मूल्य अस्वाभाविक रूपमा घट्दै गएकाले किसान चिन्तित बनेका हुन् ।बजारमा नयाँ अलैँची निस्किन थालेको करीब दुई महिना पुग्न लाग्दा गत सालको मूल्यभन्दा प्रतिमन करीब २५ हजार रुपैयाँ घटेको छ ।

भदौको शुरूदेखि बजारमा नयाँ अलैँचीको फसल निस्कन थालेको हो । शुरूमा अलैँची प्रतिमन (४० किलोग्राम) को ७० हजार रूपैयाँसम्ममा किनबेच भएपनि हाल प्रतिमन ५०÷५५ हजार रूपैयाँसम्म झरेको छ ।इलाम बजारका अलैँची व्यवसायी विजय खाकीले प्रतिमन ५० हजार रूपैयाँले अलैँचीको किनबेच भएको राससलाई बताए । नयाँ अलैँची निस्कन थालेसँगै मूल्य निरन्तर घटिरहेको उनले जनाए । यसरी अलैँचीको मूल्य निरन्तर घट्दै जाँदा लाखौको घाटा भएको सम्बद्ध किसानको गुनासो छ ।‘गत वर्ष एक लाख रूपैयाँमा प्रतिमन बिक्री गरेको अलैँची यसपालि ५० हजारले पनि बिक्री हुन मुश्किल परेको छ’, आमचोकका अलैँची कृषक कमल लामिछानेले भने, ‘गत वर्षको जस्तो भाउ नआउँदा किसान मारमा परेका छन् ।’

अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्षसमेत रहेका खाकीले यो वर्ष इलामबाट करीब ४ सय मन अलैँची झापा निकासी भएको बताए ।इलाम बजारकै अर्का व्यवसायी प्रकाश अग्रवालले गाउँ–गाउँबाट अहिले नयाँ निस्केको अलैँची गुणस्तरहीन भएको बताए । कृषकबाट गुणस्तरहीन अलैँची आउने गरेकै कारण पनि अलैँचीको मूल्यमा भारी गिरावट आएको हुनसक्ने अग्रवालको भनाइ छ । इलाममा सरदर एक हजार ५ सय हेक्टरमा अलैँची खेती हुँदै आएकोमा गत वर्ष ५ सय ५८ मेट्रिक टन अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।जिल्लाका प्याङ, नयाँबजार, माइमझुवा, पुवामझुवा, माइपोखरी, सुलुबुङ, बरबोटे, सोयाङ, नामसालिङ, जिर्मले, चमैता, आमचोक, फुएतप्पा, फाकफोक लगायत गाविसका अधिकांश कृषक अहिले व्यावसायिक अलैँची खेतीमा लागेका छन् ।