दमक/लिम्बूवान प्राप्तिका लागि भन्दै अर्को दल गठन हुने पक्का भएको छ । केही समयअघि दमकमा भएको सङ्घीय लिम्बुवान पार्टीको महाधिवेशनमा नेतृत्व चयन गर्दा लिम्बूवादीमात्र हावी भएको भन्दै बाहिरिएका कमल छराहाङको नेतृत्वमा नयाँ लिम्वुबानवादी दल गठन गर्ने पक्का भएको हो ।भेडेटार भेलाबाट एकतामा बाँधिएका लिम्बूवानका तीन बरिष्ठ नेताहरु कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा र कमल छराहाङबीचको आपसी टकरावले मिल्न नसकेर छुट्टाछुट्टै लिम्बुवान नामकै दल गठन भएको हो । कुनैबेला यी नेताहरु सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा एकसाथ थिए ।
सञ्जुहाङ र लिङ्देनबीचको विवादले पार्टी फुटाएपछि यी तीनै नेता छुट्टाछुट्टै दल गठन गर्दै टुक्रिएका थिए । धेरै लिम्बुवान पार्टी भएको भन्दै चौतर्फी आलोचना भएपछि सबै दल मिलेर भेडेटार बैठकबाट सङ्घीय लिम्बूवान पार्टी नेपाल नामक नयाँ दल गठन गर्दै एकताबद्ध भएका थिए । त्यसपछि आपसी विवाद शुरु गरेका नेताहरुकै टकरावका कारण लिङ्देन र पालुङ्वाले छुट्टाछुट्टै दलको नेतृत्व गरेका थिए । शुरुमा पालुङ्वासँगै रहेका छराहाङले केही समयअघि दमकमा भएको सङ्घीय लिम्बूवान पार्टीको महाधिवेशनमा नेतृत्व चयनप्रति गम्भीर असहमति राख्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
छराहाङलाई पार्टीमै राख्न सङ्घीय लिम्बूवान पार्टीले वार्ता समिति गठन गरी एक चरणको वार्ता गरेपनि त्यसलाई लत्याउँदै छराहाङले लिम्बूवानका लागि भन्दै तेस्रो दल गठन गर्न लागेका हुन् । छराहाङ अध्यक्ष रहने नयाँ दलको नाम लिम्बूवान मुक्ति मोर्चा (सङ्घीयवादी) हुने पक्कापक्का जस्तै छ । यसअघि वीर नेम्बाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चाको पछाडि सङ्घीयवादी थपेर नयाँ दल गठन गर्ने तयारी पक्कापक्की भएको स्रोतले जनायो । छराहाङ पक्षको बुधबार झापाको सुरुङ्गामा भएको भेलाले नयाँ दल गठन गर्ने र त्यसका लागि तयारी तीब्र पार्ने पार्टी निर्णय गरेको स्रोतले जनायो ।
छराहाङकै पक्षमा रहेका नेता जितेन राईले आउँदो पुससम्ममा नयाँ दल घोषणा गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए । सङ्घीय लिम्बुवान पार्टीको नेतृत्व चयनमा लिम्बुवादीहरु मात्र हाबी भएको र नेतृत्वमा अन्य समुदायका नेतालाई स्थान नदिएको छराहाङ पक्षले नयाँ दलमा सबै समुदायको सहभागिता गराउने बताएको छ ।नयाँ दल गठनका लागि छराहाङलाई सङ्घीय लिम्बुवान पार्टीकै नेता÷कार्यकर्ताहरुले साथ दिने भएका छन् । सङ्घीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार पालुङ्वा सहितका नेताहरु नयाँ दलमा आउने भएका छन् । पालुङ्वासहित सो पार्टीका तीन दर्जन नेतासहित करीब २ सय कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिहीबार दमकमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा आपूmहरु नयाँ पार्टीमा जानेबारे जानकारी नदिएका उनीहरुले सबै नयाँ दलमै जाने योजना अनुसार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पालुङ्वा नेतृत्वको सङ्घीय लिम्बुवान पार्टीमा लिम्बूहरु मात्र हावी भएको, केन्द्रीय नेता हुन २० देखि ५० हजार नगद माग गरेको र नेतृत्वमा किरात याक्थुङ चुम्लुङ हावी भएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय पदाधिकारी र सचिवालय सदस्य, केन्द्रीय सदस्य गरी तीन दर्जन छन् । जसमा उपमहासचिव डाकप्रसाद गौतम, आर्थिक संयोजक गोकुल भुजेल, सचिव हिम्मत नेम्बाङ, सचिवालय सदस्यहरु बुद्धिराज मेन्याङ्वो, सुरेन्द्र मेन्याङ्बो, केन्द्रीय सदस्यहरु केवल कटुवाल, तेजबहादुर थापा, अशोक न्यौपाने लगायत छन् ।