Talabandi-e1453293857548बिर्तामोड / शहीद प्रतिष्ठानको जमिनमा बिर्तामोड खानेपानीले भौतिक संरचना निर्माण गर्न थालेपछि शहीद तथा बेपत्ता परिवार समाजका नेता तथा कार्यकर्ताले मङ्गलबार त्यहाँ तालाबन्दी गरेका छन् । बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष तथा पूर्व सभासद पूजा खनाल नेतृत्वको टोलीले निर्माण कार्य रोक्न माग गर्दै त्यहाँ तालाबन्दी गरेको हो । बिर्तामोड आवास योजनाले बिर्तामोडको नयाँ बसपार्क वरपरको जग्गा बिक्री गर्ने प्रयोजनका लागि सो स्थानमा कार्यालय सञ्चालनमा ल्याएको थियो । जग्गा बिक्री गरिसकेपछि कार्यालय रहेको २ कठ्ठा १६ धुर मूल्यवान जग्गा शहीद स्मृति प्रतिष्ठान झापालाई प्रदान गरेको आवास योजनाका तत्कालीन अध्यक्ष एवं बिर्तामोड बसपार्क निर्माण समितिका तत्कालीन विष्णुबहादुर राईले प्रदान गरेको पत्रमा उल्लेख छ । २०६५ फागुन २१ गते तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सो स्थानमा ‘शहीद स्मृति स्तम्भ र उ्रद्यान’ निर्माणको लागि जमिनको स्वामित्व बुझेका थिए । जमिनको स्वामित्व लिएपनि बितेका ७ वर्षसम्म शहीद स्मृति प्रतिष्ठान रमिते भएर बसेको थियो । प्रतिष्ठानले निर्माण गर्ने भनेको भौतिक संरचनाको कुरा त परै जाओस् प्रतिष्ठानका कुनै सदस्यले त्यो जमिनको विषयमा कुनै चासो राखेका थिएनन् । जमिन लगभग बेवारिसे भएपछि बिर्तामोड आवास योजनाकै अनुरोधमा सो ठाउँमा ‘डिप ट्याङ्की’ निर्माण कार्य शुरु गरिएको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए । खासगरी बिर्तामोडको नयाँ बसपार्क क्षेत्रमा अहिले पनि खानेपानीको सुविधा छैन । त्यो योजना पूरा भएपछि बसपार्कमा खानेपानी वितरण गर्न सकिने गुरुङले बताए । जमिनको स्वामित्व नलिइ खानेपानी जस्ता दिर्घकालीन योजनाको बजेट कार्यान्वयन गर्न शुरु गर्नु अनियमितता हो । तर, बिर्तामोड खानेपानीले अर्कैको जमिनमा करोडौंको योजना कार्यान्वयन शुरु गरेको छ । अब योजना परिवर्तन गरेर अर्काे स्थानमा खानेपानी निर्माण गर्न नसकिने बिर्तामोड खानेपानीका उपाध्यक्ष परशु सिटौलाले बताए । खानेपानीमा लगानी गर्दैआएको ¥यापसँगको सहकार्यमा ३ करोड ४८ लाखको योजनामा शहीद प्रतिष्ठानको जमिनमा खानेपानीको डिप ट्याङ्की निर्माण भइरहेको छ । खानेपानीले हालसम्म १ करोडभन्दा बढी लगानी गरिसकेको उपाध्यक्ष सिटौलाले बताए । उनले शहीद तथा बेपत्ता परिवार समाजले तालाबन्दी गरेपनि निर्माण कार्य रोक्न नसकिने जिकिर गरे । बिर्तामोड आवास योजनाको समितिमा रहेका ११ मध्ये अध्यक्षसहित ८ सदस्यले माइन्यूट गरेर खानेपानीलाई त्यो जमिन प्रदान गरेको तर्क गर्दै एक वर्ष अघिदेखि निर्माण गरेको भएपनि हाल आएर तालाबन्दी गरिनु आश्चर्यको विषय भएको बताए । जमिन छोड्नै परे हालसम्म गरेको लगानी सरोकारवालाले व्यहोर्नुपर्ने उनले बताए । बिर्तामोड आवास योजनाका तत्कालीन अध्यक्ष विष्णुबहादुर राईले खानेपानीका तत्कालीन उपाध्यक्ष तथा नेकपा एमालेका स्थानीय नेता गोपी गिरीले राजनीतिक दलहरु सो जमिन खानेपानीलाई दिन सहमत भएको भनेपनि आपूmले ‘उता हस्तान्तरण गरेको’ दाबी गरे । उनले यो विषयमा गिरीसँगै जानकारी लिन समेत आग्रह गरे । बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष खनालले शहीद प्रतिष्ठानको जमिनमा कुनै पनि हालतमा अरु योजना निर्माण गर्न नदिने बताइन् । स्रोतका अनुसार माओवादीकै एकजना जिल्ला नेताको मिलेमतोमा प्रतिष्ठानको जमिन खानेपानीलाई हस्तान्तरण भएको हो ।