बिर्तामोड / झापाको दुर्घटनाग्रस्त क्षेत्रमा सोमबार फेरि दुइजनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गको सुरुङ्गा खण्डमा पर्ने जुके कल्भर्टलाई दुर्घटनाग्रस्त क्षेत्रका रुपमा सुचिकृत गरेको छ ।
बर्षाैदेखि अत्याधिक दुर्घटना हुने त्यो स्थानमा केही बर्षअघि डिभाइडर पनि राखिएको थियो । डिभाइडर राखेको समयमा पनि दुर्घटनाको क्रम नघटेपछि ट्राफिकले त्यो हटाएको थियो । झापामा हुने दुर्घटना मध्ये अधिकांस सोही स्थानमा हुने गरेका छन् । ट्राफिक झापाले जुके कल्भर्ट सहित रामचोक, माइधार, बुट्टाबारी, पाडाजुँगी, धाइजनमोड र दमकको क्याम्पसमोडलाई अत्याधिक दुर्घटनास्थल भनेर सुचिकृत गरेको छ ।
जुके कल्भर्टमा सोमबार भएको दुर्घटनामा सुरुङ्गाका ६८ वर्षीय तिलविक्रम थेबे र पछाडि सवार अन्दाजी ६० वर्षीय अग्नी भेटवाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रवक्ता याम खड्काले जानकारी दिए ।
तिब्र गतिमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ३५९६ नम्बरको यात्रुबाहक बसले मे ५ प ३८५३ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेका उनीहरुलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि बिर्तामोड ल्याउदै गर्दा ज्यान गएको प्रवक्ता खड्काले जानकारी दिए ।
ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।