इलाम/मालपोत कार्यालय इलाममा महिलाको नामबाट जग्गा पास गर्नेको सङ्ख्या वृद्घि भएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा मालपोत कार्यालयमा ग्रामीण क्षेत्रमा १३ सय ८८ र नगरपालिकामा सात सय जग्गा सङ्ख्या महिलाको नामबाट पास भएको इलाम मालपोत कार्यालयले जनाएको छ ।महिला, वृद्घवृद्घा, दलित, जनजाति र अपाङ्गको नामबाट जग्गा दर्ता गर्दा २५ प्रतिशत राज्यले छुट दिने भएकाले इलाममा अन्यभन्दा महिलाको नामबाट बढी मात्रामा जग्गा पास भएको हो । यस्तै दलित आदिवासीको नाममा ग्रामीण भेगमा २२ र नगरपालिकामा सातवटा जग्गा पास भएको छ ।
७० वर्षका वृद्घवृद्घाको नाममा ग्रामीण भेगमा तीन र नगरमा छ वटा पास भएको छ । राज्यले छुट दिएको कारण हालको अवस्थामा ग्रामीण भेगबाट समेत जग्गा पास गर्न आउने महिलाहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको मालपोत कार्यालय इलामले जनाएको हो ।गत आर्थिक वर्षमा महिलाको नामबाट जम्मा छुट भएको रकम ५६ लाख ५७ हजार चार सय १५ रहेको छ ।यस्तै दलित, जनजातिको नाममा पास भएको जग्गामा जम्मा छुट रकम एक लाख १७ हजार नौ सय ७१ लगायत अन्यका नामबाट जग्गा पास भएको जम्मा छुट रकम ५९ लाख ६५ हजार एक सय ८४ रहेको छ ।
यसरी छुट दिएको रकमसहित मालपोत कार्यालयमा गत आर्थिक वर्षमा जम्मा चार करोड ७६ लाख २६ हजार दुई सय ७१ रुपैयाँ राजश्व उठेको कार्यालयले जनाएको छ ।गत आर्थिक वर्ष २०७१÷०७२ भन्दा ०७२÷०७३ मा मालपोत कार्यालयमा महिलाको नाममा जग्गा पास वृद्घि भएको छ । पास गर्ने महिला सङ्ख्या बढी भएकोले राजश्वसमेत वृद्घि भएको मालपोत कार्यालयले जनाएको छ ।