इटहरी/इटहरी–२ हवाई चौकमा स्थानीयवासीको लगानीमा सामुदायिक प्रहरी केन्द्रको दुई कोठे भवन बन्दैछ । स्थानीयवासीकै स्वामित्वमा हरेको पुरानो भवनमा दुई वर्ष अघि सामुदायिक प्रहरीको लागि उपलब्ध गराए पछि त्यहाँ प्रहरी बस्न थालेको हो । अहिले गाउँको शान्ति सुरक्षा मजबुद हुँदै गएको स्थानीय बनाउँछन् । प्रहरीलाई स्थायित्व दिन स्थानीयवासीले शौचालय, पाकशालालगायतका पूर्वाधार निर्माणमा स्थानीय जुटेका छन् ।यता, शान्ति सुरक्षाको अनुभूतिका लागि इटहरी २३ स्थानीयले भवन नै बनाए । भवानीपुर निवासी तेजबहादुर बगाले श्रेष्ठबाट प्राप्त १० घुर जग्गामा स्थानीयकै लगानीमा प्रहरी कार्यालय बन्यो ।
[caption id="attachment_13639" align="alignnone" width="1024"]
पूर्वकै पर्यटकीय क्षेत्र तालतलैया नजिक रहेको पूरान चौकमा अस्थायी प्रहरी पोष्ट त थियो । वस्ती विकाससँगै सुरक्षित वस्तीको लागि सो पोष्टलाई प्रहरी चौकी बनाउनका लागि इटहरी– ३ पुरान चोकका खतिवडा परिवारले स्वर्गीय बाबु हरिचरण खतिवडाको स्मृतिमा प्रहरी चौकी तालतलैया पुरान चोकका लागि ३० लाख रुपियाँ मुल्य पर्ने डेढ कट्ठा जमिननै दिए ।जनसंख्या वृद्धीसँगै शहरीकरण हुँदै गएको इटहरीमा सुरक्षा मजबुद बनाउन वस्तीमा प्रहरी चौकीको माग बढेको छ । प्रहरीकोलागि स्थानीयवासी पूर्वाधार तयार गर्न तयार छन् । जनस्तरबाट यति धेरै सहयोग हुँदा पनि राज्यले इटहरीमा प्रहरी दरबन्दी बढाउन सकेको छैन । इटहरीका बालग्राम, पुष्पलाल चौक, सिआरभी पोष्ट बसपार्क, , जनता वस्ती, हलगडा, भोजपुरे बीट, पूर्वी गैसार, शान्तिझोडा, भवानीपुरमा प्रहरीराख्न स्थानीयकै लगानीमा पूर्वाधार तयार भएका छन् । केही सहयोग इटहरी उपमहानगरपालिकाले दिने गरेको छ । तर, पनि आवश्यक जनशक्ती दिन नसक्दा प्रभावकारी सेवा विस्तार हुन नसकेको स्थानीय बताउँछन् ।यता, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले पनि इटहरीमा प्रहरीको पूर्वाधारको लागि स्थानीयवासीको उल्लेखनीय सहयोग भएको बताए ।
माग भए अनुसार अझै प्रहरी दिन नसकिएको उनको भनाई छ । जनसंख्याको आधार र अपराधको वृद्धीदर हेरेर विभागले दरबन्दी थपघट गर्ने भए पनि इटहरीमा जनशक्ती अहिले अभावनै भएको उनको भनाई छ । उनका अनुसार हाल इटहरीमा ११ अस्थायी प्रहरी पोष्टसहित १८ वटा कार्यालय छन् । एक दर्जन भन्दा बढी स्थानमा अझै प्रहरी कार्यालय राख्नु पर्ने स्थानीयको माग छ । तर, इटहरीमा हाल एक सय ६२ जनाको दरबन्दी छ । भीआइपीहरुको आवागमन बढेका बेला प्रहरीलाई जनशक्ती व्यवस्थापन गर्न निकै गाह्रो पर्ने गर्छ । शान्ति सुरक्षको लागि वस्तीमा प्रहरीको माग बढ्दो छ । तर, माग अनुसार नत प्रहरी दिन सकेको छ नत भौतिक पूर्वाधारमै राज्यले लगानी गर्न नै सकेको छ । शान्तिसुरक्षा गर्ने दायित्व सरकारको हो । शान्ति सुरक्षाको लागि आवश्यक जनशक्तीसँगै पूर्वाधार समेत जरुरी पर्दछ । तर, सरकारले शान्ति सुरक्षाको लागि आवश्यक जनशक्ती दिन नसके पछि वस्तीहरु असुरक्षित हुने सम्भावना बढेको छ । इटहरीको वस्ती विस्तारसँगै ठाउँ–ठाउँमा प्रहरी चौकीको माग बढेसँगै प्रहरी जनशक्ती अभाव हुन थालेको हो । चारकोशे जंगलबाट काठ चोरी निकासी हुने र शहरी क्षेत्र तथा वरपरका क्षेत्रमा गुण्डागर्दी गर्ने समूहले बेला–बेलामा आतङ्क मच्चाउने गरेकाले शान्ति–सुरक्षाको लागि स्थानीयले प्रहरीलाई दबाब दिँदै आएका छन् । साँघुरो बन्दै इलाका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय अहिले जहाँ छ, कार्यालय व्यवस्थापनमा निकै साँघुरो हुँदै गएको छ । विभिन्न अभियोगमा समातिएका मान्छे हिरासतमा नअटे पछि माताहतका कार्यालयमा पठाउनु पर्ने बाध्यता रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मानिसको आवागमनका हिसावले पूर्वकै केन्द्र बन्दै गएको इटहरीमा फराकिलो प्रहरी कार्यालयका लागि पहल भने नभएको होइन । इलाका प्रहरी कार्यालयको लागि जुट अनुसन्धानको एक विगाहा जग्गा प्राप्त गर्नु राजनीतिक दल, साँसद् तथा प्रहरी र जिल्ला प्रशासन कार्यालयले थालेको पहलले अझैसम्म निर्णय नपाउँदा इलाका प्रहरी कार्यालय व्यवस्थापनमा समस्या हुनेगरेको कार्यालयले जनाएको छ । समस्या समाधानकै लागि नागरिक स्तरबाट केही समय अघिसम्म राम्रै पहल पनि भयो । तर, निर्णय हुन नसक्दा नापचाँच गरिसकेको जुट अनुसन्धानको एक विगाहा जग्गामा भवन बन्न सकेको छैन । राज्यको निर्णायक तहमा यहाँका राजनीतिक दल र नागरिक समाजले जग्गा उपलब्ध गराउन पहल गरी नै रहेका छन् । एक साता अघि एकिकृत नेकपा माओवादीका इटहरी उपमहानगर कमिटि अध्यक्ष सागर सुवेदीले जग्गा प्राप्तीको लागि प्रधानमन्त्री, गृह मन्त्री, कृषी मन्त्रीलाई स्मरण पत्र दिएका छन् । झण्डै तीन वर्ष इलाका प्रहरी कार्यालयको भवन निर्माणकोलागि तीन करोड ४८ लाख रुपैयाँ इलाका प्रहरी कार्यालय इटहरीका लागि जग्गा खरीद गर्न छुटयाइए पनि जग्गा खरीद हुन नसकेपछि बजेट फिर्ता भएको थियो । इलाका प्रहरी कार्यालय पुरानै साँघुरो पूर्वाधारमा बस्न बाध्य छ । इटहरीका डिएसपी नरेशराज सुवेदीले पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी अभाव भए पनि भएका जनशक्तीबाटै शान्ति सुरक्षामा पहल गरिरहेको बताउँछन् । जनसंख्या वृद्धिसँगै शहरीकरण हुँदै गएको इटहरीमा झण्डै एक सय प्रहरी आवश्यक पर्ने उनले बताए ।