धरान/कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बूवान मञ्चका नेता–कार्यकर्ताहरुले पार्टीमा स्वेच्छाचारिता बढेको भन्दै पार्टी परित्याग गरेका छन् ।सुनसरी, तेह्रथुम र पाँचथरका एक सय ७० जना विद्यार्थी, नेता र एलभी कमान्डरहरुले सामूहिक हस्ताक्षर गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
मञ्चसम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद् हुनुपर्नेमा लिङ्देनले आपूmखुसी ‘मञ्च’ बनाएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । त्यस्तै जिल्लाको क्षेत्राधिकार नाघेर अध्यक्षले स्वेच्छाचारिता लागू गरेको भन्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।तर पार्टी परित्यागको घोषणा गर्दै शनिबार प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा भने उनीहरुले पार्टी परित्यागको कारणबारे खुलाएका छैनन् । विज्ञप्तिमा १७० जनाको हस्ताक्षर छ जसमा केन्द्रीय सचिवालय सदस्य गजेन्द्र चोङबाङ क्याकदेखि क्रियाशील सदस्य, एलभी र विद्यार्थीहरुसम्म छन् । विज्ञप्तिमा कारण नखुलाइए पनि एक नेताले पार्टीमा स्वेच्छाचारिता बढेको बताए ।पार्टी परित्याग गर्ने केन्द्रीय सचिवालय सदस्य क्याकले ‘व्यक्तिगत कारण’ ले पार्टी छाडेको बताए ।
‘पार्टीप्रति मेरो कुनै रिसराग पनि छैन, अब बुढो पनि भइयो । त्यसैले स्वतन्त्र रुपमा बस्ने सोच आएर पार्टी छाडेको हो ।’ उनले भने । पार्टी परित्याग गर्ने सूचीमा पहिलो नम्बरमा रहे पनि उनले पार्टी परित्याग गर्नुको कारण खुलाउन चाहेनन् । उनी लिङ्देनका विश्वास पात्रसमेत हुन् तर ती नेताका अनुसार अध्यक्ष लिङ्देनले निर्वाचन आयोगमा दर्ता गर्दा पार्टीको नाम नयाँ राखेकाले अधिकांश नेता–कार्यकर्ता त्यसबाट असन्तुष्ट छन् ।पार्टीलाई संस्थागत र विधानसम्मत रुपमा चलाउनुको सट्टा केही अध्यक्षले मनोमानी ढङ्गले सञ्चालन गरेको असन्तुष्ट पक्षको दावी छ । जिल्ला र नगरमा व्यवस्थित नगरिए उनीहरु पार्टीमा पुनः आउने सम्भावनासमेत न्यून रहेको उनीहरु बताउँछन् ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य स्वर्णिमहाङ फोम्बोले विविध कठिनाइका कारण पार्टीको कुनै पनि पदमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएका छन् । उनले आपूm सङ्गठनबाहिर रहेर पनि सहयोगी भूमिका निर्वाह गर्ने पत्रमा उल्लेख गरेका छन् ।अध्यक्ष लिङ्देनमा मनोमानी रुपमा पार्टी चलाउने प्रवृत्ति रहेको धेरै नेताहरुको आरोप छ । भेडेटारको एकता भेलालाई लत्याउँदै लिङ्देनले पार्टीलाई सुटुक्क निर्वाचन आयोगमा दर्ता गरेपछि पार्टीका अन्य नेताहरु उनीसँग रुष्ट बनेका थिए । उनले मञ्चको अधिवेशनसमेत गरिसकेका छन् । उनले ‘दोहोरो चरित्र’ देखाएकै कारण धेरै नेता–कार्यकर्ता उनीप्रति रुष्ट भएको स्रोत बताउँछ । सङ्घीय लिम्बूवान पार्टी नेपालको प्रथम महाधिवेशन पनि असोजमा हुँदै छ ।कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गर्नुलाई विशेष रुपमा हेरिएको छ । पछिल्ला केही दिनयता हरेक दिन जसो पार्टी परित्याग गर्ने लहर चलिरहेको छ । दुई दिनअघि मात्रै फोम्बोले राजीनामा दिएका थिए । लगत्तै १७० जना नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरे । १५० भन्दा बढी कार्यकर्ताले पनि पार्टी परित्याग गर्न लागेको स्रोतले बताएको छ ।