तरहरा/पूर्वको केन्द्रविन्दू र व्यापारिक शहरको रुपमा परिचित हुँदैगएको इटहरी उपमहानगरपालिकाका अधिकाङ्श सडक समयमै मर्मत हुन नसक्दा जीर्ण बन्दै गएका छन् । वर्षेनी सडक बोर्डबाट आउने रकमको सही सदुपयोग हुन नसक्दा इटहरीका भित्री तथा हाईवेका सडक जीर्ण बनेका हुन् ।यो वर्षमात्र पनि सडक बोर्ड र नगरपालिकाको सहयोगमा ८५ लाख रुपैयाँ सडक मर्मतमा नाममा खर्च भएको छ । मर्मतको लागि खर्चिने बजेटको सही सदुपयोग भने भएको पाइँदैन । वार्षिकरुपमा मर्मतको लागि भन्दै रकम आएपनि रकम सदुपयोग हुन नसक्दा खाल्डाखुल्डीका कारण बाटोघाटोमा हिँडिनसक्नु छ ।

sadak

प्रायः इटहरीका भित्री सडकहरु जीर्ण छन् । सडक बोर्डबाट आएको सम्पूर्ण रकमको सही सदुपयोग हुन सकेको पाइँदैन । कालोपत्रे सडकहरु कच्चीमा परिणत हँुदैआएका छन् । तर, इटहरी उमपाले भने चासो देखाएको पाइँदैन । वर्षेनी लाखौं रुपैयाँ टालटुलको लागि सक्दै आएपनि वर्ष दिनमा बाटोको हालत उस्तै हुने गरेको इटहरीका हटिया लाईनका व्यापारी विक्रम घिमिरे बताउँछन् । उनी भन्छन्, ‘अधिकाङ्श सडक कामै नलाग्ने गरी बिगिएपनि उपमहानगर बेखबर बन्दै आएको छ ।’स्थानीय बासिन्दाको सहभागिता, स्थानीय श्रम, सीप र रोजगार प्राप्त हुने योजनाहरु, स्थानीय जनताको मागमा आधारित र स्थानीय स्रोत–साधनले धान्नसक्ने दिगो प्रकृतिका योजना लगायतमा आधारित भएर बजेट तथा कार्यक्रममा बजेट नखर्चिंदा उमपाको लगानी दीर्घकालीन हुन नसकेको इटहरीका टेन्ट व्यवसायी राजकुमार कार्की बताउँछन् ।

उनले केही वर्षअघि मात्र भएको कालोपत्रे सडकहरु अहिले पूर्णरुपमा जीर्ण भइसकेको भन्दै मर्मतमा ध्यान दिन आवश्यक रहेको बताए ।उमपाका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले भने सडक बोर्डबाट आएको ८५ लाख रुपैयाँले भित्री सडकहरुको मर्मत गरेको बताए । उनले सडक मर्मतको बजेट आर्थिक वर्षको अन्त्यमा आउने गरेको भन्दै मर्मतको काम भने भइरहेको दाबी गरे । इटहरीहँुदै जाने हाईवे क्षेत्रमा भने सडकको अवस्था राम्रो नरहेको उनको भनाइ थियो । पूर्व मन्त्रीको घर अगाडि लथालिङ्ग यता पूर्वपश्चिम राजमार्ग तथा कोशी राजमार्गमा बनेका खाल्डाखुल्डीहरु सडक दुर्घटनाको कारक बन्न थालेका छन् । पछिल्लो समय भएका सवारी दुर्घटनाको प्रमुख कारकमध्ये राजमार्गका बीच भागमा परेको ठूलठूला भ्वाङ पनि हुन् । तीब्र गतिमा गुड्ने सवारीका चक्का एकाएक खाल्डोमा परेपछि दुर्घटनामा पर्ने गरेका छन् । इटहरीबाट विराटनगर जाने बाटोको साथी पेट्रोल पम्प अगाडि निकै ठूला खाल्डाखुल्डी छन् ।पूर्वमन्त्री रामकुमार सुब्बाको घरकै अगाडि पनि ठूला खाल्डा छन् । धरान रोडको बीच भागमै ठूलो खाल्डो परेको छ । बीच भागमै खाल्डो परेको र वर्षाको पानीले खाल्डो भरिएर नदेखिने हुँदा तीब्र गतिमा आएका मोटरसाइकल, साना सवारीहरु दुर्घटनामा पर्ने गरेका छन् । मोटरसाइकल, सिटी सफारी तथा साना सवारीहरु कुदाउन समस्या हुने गरेको चालकहरु बताउँछन् । पूर्वमन्त्रीको घरभित्र भलबाढीनै छिर्ने गरेको छ ।सडक सुरक्षाको जिम्मेवारी सडक डिभिजनको हुने भन्दै सडकले नै मर्मत गर्नुपर्ने इटहरी उमपाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले बताउँछन् । सडक डिभिजनलाई पटक–पटक पत्राचार गर्दा पनि काम नभएको उनले बताए । सडक कार्यालयकै लापरवाहीका कारण इटहरी तथा हाईवे क्षेत्रको बाटोको अवस्था दर्दनाक भएको उनको जिकिर छ ।यता सडक डिभिजन कार्यालयले भने वर्षाले गर्दा तत्काल खाल्डो पुर्ने काम गरिएको बताएको छ । हिँउदमा कालोपत्रे गर्ने कार्यालयले जनायो । तत्काल गिट्टीले खाल्डो पुर्ने काम शुरु गरिएको डिभिजन कार्यालयबाट खटिएका सुपरभाइजर शिव दाहालले बताए । सडकको अवस्था दयनीय भएको स्वीकार गर्दै उनले मर्मतको काम भइरहेको बताएका छन् ।