धरान/लोपोन्मुख भाषा आठपहरिया राई भाषामा विद्यावारिधी गरेका भाषाविद् प्रा.डा. टङ्क न्यौपानेको अभिनन्दन नागरिक स्तरबाट हुने भएको छ । उनको अभिनन्दनलाई साझा कार्यक्रमको रुपमा आयोजक प्रा.डा. टङ्क न्यौपाने अभिनन्दन मूल समारोह समितिले लिएको छ । नागरिक स्तरमा अभिनन्दन हुन लागेको पूर्वमा यो पहिलो हो । भाषाविद् डा. न्यौपानेले विशेष गरी लोपोन्मुख जातिहरुको भाषालाई उधिनेका छन् । उनले लोहोरुङ जातिको पुस्तकसमेत प्रकाशित गरेका छन् । नागरिक स्तरमा उनलाई धरान र इटहरीले एकैदिन अभिनन्दन गर्दै छ । मोती जयन्तीको अवसरमा भदौं १६ गते धरान र इटहरीमा डा. न्यौपानेलाई अभिनन्दन गर्ने अन्तिम तयारी पूरा भएको मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उनलाई झाँकी र्यालीसहित रथारोहण गराउँदै धरान नगर परिक्रमा गराउने तयारी भइरहेको कार्यक्रमका संयोजक अनिल पौडेलले बताए । सोही दिन बिहान इटहरीमा जनता क्याम्पसबाट रथारोहण गर्दै चोकमा आएर सम्मान अभिनन्दनमा परिणत हुने छ भने धरानमा तिनकुनेमा रहेको श्रीजङ्गाको पूर्ण कदमा माल्यापर्ण, भानुचौकको भानुभक्त आचार्यको शालिकमा माल्यापर्ण गर्दै पब्लिक स्कुलबाट नगर परिक्रमा गर्दै सैनिक भवनमा कार्यक्रम हुने छ । सोही दिन ७३ वटा स्वेदश तथा विदेशमा रहेका साहित्यिक संस्थाहरुले एकमुष्ट रुपमा अभिनन्दन गरिने भएको छ । कार्यक्रममा पूर्वाेत्तर भारतका स्रष्ठाहरुसमेत आउने कार्यक्रम रहेको सचिव प्रा.डा. भीमप्रसाद खतिवडाले बताए । मूल समारोह समितिलाई सहयोग गर्नको लागि ९ वटा उपसमितिहरुसमेत गठन भएको छन् । समारोहकै दिन सडकदेखि शिखर तिर नामक ५२८ पेजको अभिनन्दन ग्रन्थ सार्वजनिक गरिने भएको छ । कार्यक्रमको लागि सबैले उत्साह देखाए पनि आर्थिक व्यवस्थापनमा केही समस्या भइरहेको व्यवस्थापन समितिका संयोजक गोपीकृष्ण ढुंगानाले बताए । उनले हालसम्म एक लाख रुपैयामात्रै जुटेको बताउँदै ४ लाख रुपैयाको बजेटिङ भएको बताए ।