भद्रपुर/अदालतले गरेको फैसाला कार्यान्वयन नभएको भन्दै उद्योगी दाजु–भाईविच विबाद बढेर गएको छ । झापाका चर्चित उद्योगपती स्वर्गीय मोहनलाल अग्रवालको निजि धन सम्पत्तिमा छोरा सुरेशले दाजु महेशलाई अदालतले गरेको निर्णयलाई बेवास्ता गरि पैत्रिक सम्पत्तीको हक नदिएपछि विवाद सुरु भएको हो । पुनराबेदन अदालत पाटनले फैसला गरेको पाँच वर्ष वितिसक्दा समेत सम्पत्ती नपाएपछि दुबैविच पारिवारिक द्धन्द्ध बढेर गएको छ ।
पारिवारिक घट्ना विवरण अनुसार भाई सुरेशले कम्पनीको कारोबार तथा सम्पत्तीको हक नदिएपछि अहिले महेश पीडित बनेका छन् । महेशको नाममा रहेको सम्पत्ती र शेयर लगानीबाट भाई सुरेशले वञ्चित गराएका छन् ।महेशले आफ्नो श्रीमतीको नाममा रहेको जग्गा जोतभोगका लागि अगाडी बढेपनि सुरेशले प्रहरी, प्रशासनको आडमा रोक लगाउन खोजेपछि दुई भाई बिच विवाद बल्झिएको छ । बिवाद जिल्ला प्रहरी कार्यालय झापा सम्म पुगिसकेको छ ।घटना अनुसार साविक महेशपुर ५ हाल भद्रपुर १ मा रहेको मोहन टी स्टेट प्रालि महेशको श्रीमती चन्दाको नाममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता छ । लगभग २२ विगहा क्षेत्रफलमा रहेको चिया बगानको आम्दानी १३ बर्षदेखि सुरेशले भोग गर्दै आइरहेका छन् । २०५८ साल असोज ११ गते मोहन टि स्टेटका सञ्चालक महेशको नाममा कम्पनी रजिष्टार कार्यालय दर्ता भएको कागजातमा उल्लेख गरिएको छ ।
टी स्टेट सञ्चालक महेशले श्रीमती, छोराछोरी गरी चार जनाको शेयर रहेको भनि २०५८ कार्तिक २५ गते दर्ता गराएको देखिन्छ । २०५९ असोज १० गते महेशले श्रीमती चन्दाको नाममा टी स्टेटको सञ्चालक भनि नामसारी गरेका थिए । यती हुदाहुदै पनि भाई सुरेशको लैलाईमा लागि उनका बाबु मोहनलालले मोहन टि स्टेट प्रालिको सञ्चालक महेश र उनको श्रीमती चन्दा नभएको किर्ते कागजात बनाई २०६२ सालमा काठमाडौ जिल्ला अदालतमा मुद्धा दर्ता गराएको महेशले बताए । किर्ते कागजात ठहर भएको भन्दै काठमाडौ जिल्ला अदालतले मोहन टी स्टेटको सञ्चालक महेशको श्रीमती चन्दा भएको भनि २०६५ भदौ ६ मा फैसला गरेको थियो । अदालतले गरेको फैसला पक्षमा नभएको भन्दै उनका बाबु मोहनलालले पुनः पुनरावेदन अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए ।
सो मुद्धा पनि महेश र उनको श्रीमतीको नाममा पुनरावेदन अदालतले २०६८ मसिर १८ गते फैसला गरेको थियो ।दुई वटा अदालतले महेश र उनको श्रीमतीको नाममा फैसला सुनाएपनि हाल सम्म सो जग्गाको आम्दानी सुरेशले राखेका छन् । टी स्टेटको कारोबारको हिसाबकिताब माग्दा समेत भाई सुरेशले नदेखाएको महेश अग्रवालले बताए । अदालतको फैसला आफनो पक्षमा रहेपनि भाई सुरेशले प्रहरी प्रशासनको आडमा जवरजस्ती सम्पत्ती हडप्न खोजेको महेशले बताए । उनका अनुसार मित्तल टि स्टेट, कुवाडीदेवी टि स्टेट, मित्तल सिमेन्टमा समेत मेरो नामको शेयर लगानी रहेपनि हाल सम्म कुनै पनि कम्पनीको आर्थिक कारोबार सुरेशले नदेखाएकोमा आपती जनाए । अदालतले गरेको फैसला कार्यान्यन नभएकोमा महेशले गुनासो गरेका छन् ।
जवरजस्ती मजदुर लगाएर मेरो जग्गामा पत्ति टिपेको भन्दै महेशको विरुद्धमा सुरेशले आइतबार प्रहरीमा निवदेन दिएका छन् । दाजु भाइको विषयलाई लिएर सोमबार प्रहरी कार्यालय झापाका एसपी शैलेश थापा क्षेत्रीको उपस्थितमा महेश र सुरेश दुवै तर्फका वकिल, उद्योगी व्यवसायीविच छलफल भएको थियो । अदालतबाट समेत महेशको नाममा फैसला भएको कागजात पेश भएपछि महेशले नै पत्ति टिप्न पाउने प्रहरी कार्यालय झापामा मौखिक सहमति भएको थियो ।सोहि विषयमा मंगलवार पुनः जिल्ला प्रशासन कार्यालय झापामा छलफल भएको छ ।दुइजना सहायक प्रमुख जिल्ला अधिकारी र दाजुभाईविच लामो समय भएको छलफलमा पारिवारीक विषय भएकोले घरमानै मिलाउन सुझाव दिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद सापकोटाले बताए । अदालतले गरेको निर्णय दुवैपक्षले स्विकार्नु पर्ने भएकोले झगडा नगर्न दुवैपक्षलाई सम्झाएको प्रजिअ सापकोटाले जानकारी दिए । अनुकुल मिलाएर चाडै यस विषयमा पुनः छलफल हुने सापकोटाले बताए । यस विषयमा सुरेशलाई पटक पटक फोन सम्पर्क गर्दा फोन रिसिभ गरेनन ।