अझै सुरु भएन नेविसंघको चुनाव
काठमाडौँ/नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्रक्रिया प्राविधिक कारणले अहिलेसम्म सुरु हुन सकेको छैन ।
सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतदान गर्ने कार्यक्रम सार्वजनिक भएको थियो ।
केही पदमा विद्युतीय उपकरण तथा केही पदमा कागजी मतपत्रद्वारा मतदान गराउन निर्वाचन समितिलाई प्राविधिक समस्या देखिएपछि मतदान सुरु हुन नसकेको बताइएको छ ।
अध्यक्षमा आठजनाले उम्मेदवारी दिए पनि पदमराज पन्तले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनावी प्रतिस्पर्धामा छन ।
मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की प्रतिस्पर्धामा रहेको छ ।
त्यसैगरी, महामन्त्रीमा छ जनाले उम्मेदवारी दिए पनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहेका छन ।
त्यस्तै कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिएका छन ।
मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित भए । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी ५ सय भन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
सङ्घको ११ अाैँ महाधिवेशन उद्घाटन भएको १० दिनपछि नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको थियो । नौ वर्षपछि भएको सङ्घको ११ अाैँ महाधिवेशन नेकाका पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते उद्घाटन गरेका थिए ।