विराटनगर / सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभाले बनाएको संविधान पुनर्लेखन गर्न आवश्यक नभएको बताएका छन् । संयुक्त मधेशी मोर्चाको महत्वपूर्ण घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखन गर्नुपर्ने माग गरिरहेको सन्दर्भमा मोर्चाकै अर्को घटकका नेता महतोले भने संविधान संशोधनबाटै सबै समस्या समाधान गर्न सकिने धारणा राखेका हुन् ।
सद्भावनाको मोरङ कमिटीले आइतबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान निर्माणका क्रममा जुन–जुन धारामा कमजोरी भएका छन्, संशोधनको माध्यमबाट त्यसलाई सच्याएर मधेश र जनजातिका समस्या समाधान गर्न सकिने बताए । उनले भने, ‘संविधान पुनर्लेखनबारे मलाई थाहा छैन र संविधान पुनर्लेखन गरे नयाँ संविधान बनाउने भन्ने कुरा हुन सक्दैन । अहिलेका समस्या समाधान गर्ने भनेको संविधान संशोधनकै बाटोबाट हो र त्यसरी नै समाधान निकाल्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’
मधेश र जनजातिका समस्या समाधान भएपछि मुलुकको राजनीतिक गति अघि बढ्ने भन्दै उनले त्यसपछि स्थानीय, प्रदेश सभा र संसद्को निर्वाचन गर्न सकिने उनको भनाइ थियो । प्रदेशको सीमाङ्कनको विषय नमिलाएसम्म र अधिकारका विषयहरुमा सहमति नबनेसम्म भने कुनै पनि निर्वाचन हुन नदिने उनको अडान थियो । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाबीच मधेशमा दुई प्रदेश बनाउने विगतदेखिकै सहमति भएको भन्दै त्यसमा प्रचण्ड अडिनुपर्ने विचार व्यक्त गरे ।
प्रदेशको सीमाङ्कन मिलाउने विषयमा विभिन्न विकल्पमा छलफल गर्न तयार रहेको तर अहिलेकै प्रदेश सङ्ख्यामा विवादित झापा, मोरङ, सुनसरी तथा कैलाली, कञ्चनपुरको माथिल्लो खण्ड विभाजन गरेर समाधान खोज्न सकिने उनले जनाए । उनले भने, ‘सिमानाहरु फेरबदल भइरहन्छन् । सङ्ख्या पनि थपघट हुन्छ तर सैद्धान्तिक विषय मिलेपछि सहमति खोज्न सकिन्छ । यो विषयमा नेपालका सबै राजनीतिक दलहरु सहमत भएर अघि बढ्नुपर्छ ।’ अध्यक्ष महतोले एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गर्दै कुनै दलको भन्दा पनि जनताको मुद्दामा छलफल हुने र जनताकै चाहनाअनुसार अघि बढ्नुपर्ने भएकाले अनावश्यक अडानहरु राखिरहन नपर्ने विचार व्यक्त गरे ।
पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वर्तमान सरकार मधेश डुबाउने गरी आएको बाढी र डुबान समस्याप्रति उदासीन भएको आरोप लगाए । उनले सरकार छोड्नु पर्दाको पीडाले बेचैन भएर जनताको दुःखमा रमिते बनेको भन्दै सरकारको आलोचना गरे । त्यस क्रममा अब बन्ने सरकारमा मधेशी मोर्चा सहभागी नहुने उनले बताए । सरकारमा गएर काम गर्न सकिँदैन भन्ने अनुभवका आधारमा आप्mना अधिकतम सरोकारका विषयलाई सम्बोधन गर्न सक्ने दललाई समर्थन गरेर बस्ने उनको भनाइ थियो ।
सप्तरीको तिलाठी घटना सरकारको सोचको उपज भएको भन्दै दुई देशका जनतालाई भिडाउने काम सरकारकै क्रियाकलापका कारण उत्पन्न भएको उनले दावी गरे । उनले मधेश डुबाउने गरी बाँध बनाइएको कुरा थाहा पाएर पनि नेपाल सरकारले भारत सरकारसँग छलफल गरी समाधान नखोजेका कारण अहिलेको अवस्था उत्पन्न भएको र अब दुई देशबीच वार्ता गरेर समस्या समाधानका लागि पहल गर्नुपर्ने विचार व्यक्त गरे । सद्भावना पार्टीले डुबानग्रस्त क्षेत्रमा राहत, उद्धार र आवश्यक सहयोग गर्दै अभियान शुरु गरेको छ । अध्यक्ष महतोले शनिबार विराटनगर क्षेत्रका डुबान पीडितहरुलाई राहत वितरण गरिएको र कञ्चनपुरसम्मै राहत वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।