ताप्लेजुङ / पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने माग राख्दैआएका विभिन्न लिम्बुवान पार्टी सम्मिलित सङ्घीय लिम्बुवान पार्टी नेपाल विभाजित भएको छ । सो पार्टीको नेतृत्व गर्दैआएका कुमार लिङ्देनले पुनः सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च राष्ट्रिय पार्टी बनाएका छन् ।kumar lingden केही दिनअघि झापाको दमकमा सम्पन्न राष्ट्रिय महाधिवेशनले पार्टीलाई देशव्यापीरूपमा अगाडि बढाउने निर्णय गरेसँगै ताप्लेजुङमा पनि यसको गठन शुरु भएको छ । महाधिवेशनबाट ताप्लेजुङको लागि चुनिएका संयोजक नेत्र खतिवडाले सदरमुकाममा बिहीबार पत्रकार सम्मेलन गरी जिल्लामा यसअघि गठन भएको सङ्घीय लिम्बुवान पार्टी नेपालका अधिकाङ्श नेता/कार्यकर्ता सम्मिलित सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बनाउने तयारी रहेको जानकारी दिए । जिल्ला अधिवेशनपछि ताप्लेजुङमा पनि यसको पूर्ण सदस्यीय मञ्च निर्माण गरिने खतिवडाले बताए । सो मञ्चले लिम्बुवानको सैद्धान्तिक बहसमा समानान्तर सरकार, ग्रेटर लिम्बुवान, जनमत सङ्ग्रह जस्ता दस्तावेजलाई खारेज गर्दै लिम्बुवान प्राप्ति र समानुपातिक सहअस्तित्वसहितको समावेशी लिम्बुवान स्थापित गर्न राजनीतिक क्षेत्रमा क्रियाशील रहने संयोजक खतिवडाको भनाइ छ । यसैबीच झापाको दमकमा असार १७, १८ र १९ गते सम्पन्न महाधिवेशनले लिम्बुवान, थरुहट, तमुवान लगायत १० प्रान्तीय समिति गठन गरेको थियो । सङ्घीय गठबन्धनका २९ मध्ये पहिचानवादी नौवटा दलसँग एकता प्रक्रिया शुरु भएको मञ्चका अध्यक्ष लिङ्देनले बताएका छन् । ब्लाष्टसँग कुराकानी गर्दै लिङ्देनले यसअघि केही लिम्बू नेताका कारण पार्टी पूर्वमा मात्र सीमित रहेका बेला उनीहरूसँग सम्बन्धविच्छेद गर्दै पार्टीलाई राष्ट्रव्यापी बनाएको बताएका छन् । दोस्रो महाधिवेशनले लिङ्देन नेतृत्वमा नयाँ समिति गठन गरेको छ । केन्द्रीय समितिमा ५६ सचिवालय सदस्यसहित एक सय १४ जना रहने छन्, जसमा हरेक प्रान्तबाट १/१ उपाध्यक्ष, महासचिव र सचिव चयन गरिएको छ । यसअघि धनकुटाको भेडेटारमा ०७१ सालमा आयोजना भएको एकता भेलाले पाँचवटा लिम्बुवानी पार्टीलाई एकीकरण गरेर लिङ्देन नेतृत्वमानै ‘सङ्घीय लिम्बुवान पार्टी नेपाल’ गठन गरेको थियो ।