मोरङ/ प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुबीच सहमति भए राष्ट्रिय सरकारको नेतृत्व आपैले गर्ने बताएका छन् ।
संविधान कार्यान्वयन तथा सम्मुनत नेपाल निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि दल सहमतिबाट पछाडि हट्न नसक्ने बताए ।
राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेपाली काङ्ग्रेसले पनि सहयोग गर्नुपर्ने उनले बताए ।
प्रमुख विपक्षी काङ्ग्रेससँग मिलेर अगाडि बढ्ने विषयमा सकारात्मक छलफल भएको भन्दै उनले सहमतिको वातावरण बन्दै गएको दाबी गरे । १६ बुँदे सहमतिलाई टेकेर संविधान जारी भएको स्मरण गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अहिले पनि दलहरुबीच सहमति आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले मधेशी मोर्चाको मागलाई वार्ताबाटै टुङ्ग्याउन सरकार तत्पर रहेको बताए । वार्ताका लागि आपैmंले पत्र पठाएको उल्लेख गर्दै उनले अब कुनै पनि बहाना ननिकाल्न मोर्चाका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । यसैबीच मोरङको गोठगाउँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयमा विद्यमान् समस्यालाई सम्बोधन गर्ने बताए । उपकुलपतिका हैसियतले आप्mनै स्वागतमा विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा उनले यसअघि विश्वविद्यालयका समस्याबारे आपूकहाँ जानकारी नै नआएको जनाए । सो अवसरमा नागरिक समाज तथा विश्वविद्यालय सहयोग समितिका संयोजक लोकप्रसाद सङ्ग्रौला र विश्वविद्यालय सरोकार समन्वय समितिका संयोजक सञ्जीव रोकायाले प्रधानमन्त्रीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रममा पूर्व संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्व राज्यमन्त्री गोपी आछामी, सांसद् चन्द्रबहादुर गुरुङ, पूर्वसांसद् एवम् एमाले नेता गुरु बराललगायतले बोलेका थिए ।