काठमाडौं / नयाँ शक्ति नेपालले जेठ ३० गते काठमाण्डौंको दशरथ रंगशालाबाट पार्टी घोषणा गर्दै आफ्नो ‘शक्ति’ देखाउने भएको छ । एक लाख पार्टी सदस्यलाई संस्थापक सदस्य बनाएर घोषणा गर्न लागेको नेपालमा यो पहिलो पार्टी हो । नयाँ शक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितीका संयोजक खिमलाल देबकोटाले दिएको जानकारी अनुसार पार्टी घोषणामा देश तथा विदेशका नयाँ शक्तिका संस्थापकहरु सहभागि हुनेछन् । देशका ७५ जिल्ला र विदेशका २४ देशमा नयाँ शक्तिको अन्तरिम पार्टी कमिटी छ । घोषणा सभामा विदेशका सबै कमिटीबाट सहभागिता रहने सो पार्टीले जनाएको छ ।
पार्टी स्थापना तथा घोषणा सभामा नयाँ शक्तिले विभिन्न २५ देशका राजदूत तथा कुटनितिक नियोकलाई निम्ता पठाएको छ । त्यसैगरी देशका सबै राजनितिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको प्रबक्ता देबकोटाले जानकारी दिए ।
नेपाली काँग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,राप्रपा सहित सबै मधेसी दललाई निम्ता पठाईसकिएको नयाँ शक्तिले जनाएको छ । रंगशालामा गर्ने कार्यक्रममा सहभागी हुन काठमाण्डौंका ४ मुख्य ठाउँबाट सहभागिलाई रंगशाला पठाउने व्यवस्था समेत पार्टीले मिलाएको छ । जस अनुसार कुपण्डोल,बबरमहल,कालिमाटी र रत्नपार्कबाट झाँकी सहितको जुलुस रंगशाला प्रवेश गर्नेछ ।
राजधानी बाहिरबाट आउने सहभागिले आफैं गाडीको व्यवस्था गरेर आएको खण्डमा ती बसहरु जुलुस शुरुहुने स्थानसम्म जान दिने गरी ट्राफिक प्रहरीसँग समन्वय भैरहेको पनि पार्टीले जनाएको छ । त्यसका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न नयाँ शक्तिले आफैं सडकमा खटिने युवा स्वयंसेवी तयार पारेको छ ।
नयाँ शक्तिको पार्टी घोषणामा मञ्चमा बस्ने व्यवस्था पाँच सय जनालाई मिलाईएको सो पार्टीको व्यवस्थापन विभागले जनाएको छ । तर,शुभकामना भने प्रतिनिधीमुलक ढंगले लिईने जनाईएको छ ।
नयाँ शक्तिले बिरयानी खुवाउने
नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्टिय भेलामा सहभागि हुन आउने प्रतिनिधिहरुलाई बिरयानी खुवाउने भएको छ । नयाँ शक्तिले हरेक क्षेत्रमा नयाँ गर्ने सम्वन्धमा छलफल सत्रका करिब १ हजार ५ सय प्रतिनिधिलाई नयाँ परिकार बिरयानी खुवाउन लागेको प्रतिनिधि आवास व्यवस्थापन उप समितिकि संयोजक बलावती शर्माले जानकारी दिए ।
पार्टीको दुई दिने छलफल सभामा सहभागि प्रतिनिधिलाई स्वस्थ र ताजा खाना सहित उचित आवासको व्यवस्था गरिएको मा ढुक्क रहन सबैलाई शर्माले आग्रह गरे । करिब सात सय प्रतिनिधिलाई ३०, ३१ र ३२ गते तिन दिनको लागि उपत्यकाका विभिन्न क्षेत्रमा आवासको व्यवस्था छ । पार्टी स्थापना राष्ट्रिय भेला घोषणा सभा जेठ ३० गते दशरथ रंगशालामा हुनेछ र नेपाल प्रज्ञा प्रतिष्ठानमा जेठ ३१ र ३२ गते नयाँ शक्ति नेपालको दुई दिन सम्म छलफल सत्र चल्नेछ । घोषणा सभामा पर्यवेक्षक नरहने नयाँ शक्ति नेपालले जनाएको छ ।